प्रसिद्ध भाषाशास्त्रीको ‘लिम्बू भाषाको ग्रामर’ सार्वजनिक

विराटनगर। प्रसिद्ध भाषाशास्त्री जर्ज भान ड्रिमद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू बेस्ड अन दी फेदापे डाइलेक्ट अफ दिओल्ड लिम्बू हर्ट ल्यान्ड’ सार्वजनिक भएको छ। तेह्रथुमको म्याङलुङ नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो।

पुस्तकका लेखक ड्रिम १० भाषाका विज्ञका रूपमा परिचित छन्। सन् १९८७ मा जर्मनको ब्रिटर पब्लिसिङ हाउसले प्रकाशन गरेको उक्त पुस्तकको संस्करण नेपालस्थित स्विस राजदूतावासको सहयोगमा जगदम्बा प्रकाशन, काठमाडौँले प्रकाशित गरेको हो।

पुस्तकमा फेदापे लिम्बू भाषाको ‘ग्रामर’ उल्लेख गरिएको छ। उक्त पुस्तक संसारभरका फेदापे लिम्बू भाषा अध्ययन गर्न चाहनेका लागि उपयोगी हुने छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए।

लिम्बू समुदायका नयाँ पुस्तामा भाषा हराउँदै गर्दा विदेशी नागरिक लेखक जर्ज भ्यानले फेदापे लिम्बू भाषाको ग्रामर समेटिएको पुस्तक प्रकाशन गरिरहँदा यहाँस्थित अन्य निकाय पनि भाषा संरक्षणमा गम्भीर देखिनुपर्ने मेन्छ्यायेम गाउँपालिका अध्यक्ष यादव खापुङले बताए।

लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबोहाङले नेपालको कुम्भकर्ण तथा धौलागिरि हिमाल क्षेत्रबाट सम्पूर्ण मानव जातिको विस्तार भएको ड्रिमको खोज प्रमाणित भएमा र तेह्रथुमको फेदापबाटै भोट बर्मेली भाषा परिवारको विस्तार भएको प्रमाणित भएमा संसारभरका मानवशास्त्री र भाषाशास्त्रीका अध्ययनको केन्द्रका रूपमा तेह्रथुम बन्न सक्ने बताए।

हल्यान्ड निवासी जर्ज भान्ड्रिमले विसंं २०३९ मा तेह्रथुमको म्याङलुङ–१० तत्कालीन तम्फुुला गाउँ पञ्चायतस्थित तम्फुला गाउँमा ६ महिना बसेर फेदापे लिम्बू भाषाको अध्ययन गरेका थिए।

लेखक आफू हल्यान्डमा भाषा विज्ञानको विद्यार्थी रहँदा जर्मन भाषा र हल्यान्ड भाषाविद्हरूको चिनियाँ भोट बर्मेली भाषाको पुरानो रूप लिम्बूवानमा भेटिन्छ भन्ने अनुसन्धानात्मक पुस्तक अध्ययनपछि प्रोफेसरहरूले आफूलाई नेपालको लिम्बूवान क्षेत्रमा पठाएको स्मरण गरे।

स्थानीय नारायण लिम्बूको सहायतामा लिम्बू भाषाको अध्ययन गरेको उनको भनाइ छ। तीन दशकअघि प्रकाशित उक्त पुस्तकको संस्करण नेपालीहरूको पहुँचमा पुग्न सक्नेगरी स्विस राजदूतावास लगायतको सहयोगमा प्रकाशन गरिएको जगदम्बा प्रकाशनले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *