मछिन्द्रलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा
विराटनगर। थ्रीस्टार क्लब विराटनगरमा जारी विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ। विराटनगरको सहिद रंगशालामा शुक्रबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन मछिन्द्र एफसीलाई २-१ गोलले निराश बनाउँदै थ्रीस्टार क्लब सेमिफाइनल पुगेको हो।
जितसँगै थ्रीस्टारले आइतबार पहिलो सेमिफाइनल खेल विभागीय टिम त्रिभूवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ। जितका लागि थ्रीस्टारका आशिष चापागाईं र दिपेश घलेले समान एक-एक गोल गरे।
खेल सुरु भएको १५ औं मिनेटमा थ्रीस्टारका आशिष चापागाईंले गोल गरेर टिमलाई अग्रता दिलाए। एन्जल महर्जनले निकालेको क्रस पासलाई आशिषले डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुमाए। अग्रता लिएको १० मिनेट बित्न नपाउँदै २५ औं मिनेटमा दिपेश घलेले व्यक्तिगत दोस्रो गोल गरेर टिमको जित सुनिश्चित गरे।
मछिन्द्रका क्याप्टेन देवेन्द्र तामाङ्गले खेलको अन्त्य तिर ८९ औं मिनेटमा सान्तवना गोल फर्काए। उनले डिबक्स भित्र हेडिङ्गमार्फत आकर्षक गोल गरेका थिए। थ्रीस्टारका दिपेश घले म्यान अफ द म्याच घोषित भए। उनले नगद ११ हजार पाए। पहिलो हाफमा दुई गोलले पछि परेपछि मछिन्द्र दबावमा परेको थियो। दोस्रो हाफपछि आक्रामक रुपमा मैदान प्रवेश गरेपनि बराबारीमा ल्याउन निकै संघर्ष गर्यो।तर सफल हुन सकेन।
थ्रीस्टारले बुधबार दोस्रो मुख्यमन्त्री कपिलबस्तु तिलौराकोट गोल्कडप फुटबल प्रतियोगिताको फाइनलमा हारेको बदला पनि विराट गोल्डकपमा आएर लिएको छ। कपिलबस्तु गोल्डकपको फाइनलमा थ्रीस्टारलाई मछिन्द्रले १–० गोलले पराजित गरेको थियो।
दोस्रो हाफपछि मछिन्द्रले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन। खेलको ५५ औ मछिन्द्रका देवेन्द्र तामाङ्गले डिबक्स बाहिरबाट गरेको कडा प्रहार थ्रीस्टारका गोल किपर विवेक मगरले बिफल पारिदिए। त्यसलगत्तै थ्रीस्टारका विदेशी खेलाडी एन्ड्रिसले कडा प्रहार बाहिरियो।
८० औ सिमनेटमा थ्रीस्टारका युसुफले करिब २५ यार्डदेखि गरेको सशक्त प्रहार पोस्टमाथिबाट गयो। यसरी थ्रीस्टारका खेलाडीले बारम्बार पाएको गोल गर्ने अवसर खेर फाल्दा प्रतियोगिताको पहिलो खेलबाटै बाहिर बाध्य भयो।
मछिन्द्र गत वर्षको बिजेता टिम हो। आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २–० गोलले हराउँदै मच्छिन्द्रले उपाधि उचालेको थियो। थ्रीस्टार फुटबल क्लबले पाँचौ संस्करणको विराट गोल्डकपको उपाधि जितेको थियो। फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० गोलले स्तब्ध बनाउँदै थ्रीस्टारले उपाधि चुमेको थियो।
शनिबारको अन्तिम क्वाटरफाइनल खेल चर्च व्वाईज युनाईट र एनआरटीबीच हुनेछ।
