आश्रयस्थलमा छिर्यो टिपर, ३ जनाको मृत्यु
काठमाडौं। काठमाडौंको शंकरापुरस्थित आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ। आज शुक्रबार बिहान भएको दुर्घटनामा समान २१ वर्षका सुमन र आकाश तथा ४५ वर्षीय हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ।
द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गरेको शंकारापुर नगरपालिका–६ सलम्बुटारस्थित अनाथ बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिरेको हो। अनियन्त्रित भइ सडक छाडेर आश्रयस्थलको टहरामा बिहान करिब पौने ४ बजे टिपर छिरेको प्रहरीको भनाइ छ।
टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। २०६२ सालदेखि सञ्चालनमा रहेको उक्त आश्रयस्थलमा ६१ जना बस्दै आएका छन्। तिनैमध्ये टिपरले किचेर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
