लागुऔषध नियन्त्रण धरानमा प्रहरीले चलायो गोली

सुनसरी। लागुऔषध ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिन प्रहरीले धरानमा गोली चलाएको छ। प्रहरीले कारोबारीहरुबाट २२५ किलो गाँजा बरामद गरेको छ। कारोबारमा संलग्न एक जनालाई पक्राउ गरिएको छ।

धरान उपमहानगरपालिका–२० चिमफुले खोलामा बुधबार राति प्रहरीले गोली चलाएको हो। लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय धरान तथा अस्थायी प्रहरी पोस्ट जोरसखुवाबाट संयुक्त टोली खटिएको थियो।

गाँजा बोकेर पैदल आउँदै गरेका व्यक्तिहरुलाई जाँच गर्न खोज्दा उनीहरु भागेका थिए। प्रहरीलाई देख्नासाथ विष्णुपादुकाबाट रेलवेतर्फ आउने जंगलको भित्री बाटोमा गाँजा फ्याँकेर उनीहरु भागेको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए।

त्यसरी भागेको समूहलाई नियन्त्रणमा लिनका लागि गोली चलाउनु परेको उनको भनाइ छ। हवाईफायर गरेर धनकुटाको साँगुरीगढी गाउँपालिका–९ का ४३ वर्षीय हरिकुमार राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गाँजा ओसारपसारमा संलग्न अरु फरार रहेकाले खोजी तीव्र पारिएको जनाइएको छ। घटनास्थलबाट प्रहरीले ९ बोरा गाँजा बरामद गरेको छ । बोराभित्र २ सय २५ किलाग्राम गाँजा रहेको एसपी तिम्सिनाले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *