घरेलु मैदानमा मोरङ पराजित, आर्मी सेमिफाइनलमा
विराटनगर। विराट गोल्डकपको आज बुधबार भएको खेलमा मोरङलाई पराजित गर्दै विभागीय टिम त्रिभूवन आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ।
विराटनगरको सहिद रंगशालामा बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा मोरङ लाई १–० गोलले हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो।
आर्मीको जितमा निरज चौधरी नायक बने। उनले पहिलो हाफको ३७ औ मिनेटमा गरेको गोलनै टिमको जितको लागि निर्णायक बन्यो। पथेमन गलेले मध्य भागबाट निकालेको क्रस पासलाई निरजले आकर्षक गोलमा परिणत गरेका थिए।
पहिलो गोल खाएपछि दबाबमा परेको मोरङ ११ ले बराबरीमा ल्याउन निकै संघर्ष गर्यो। तर सफल हुन सकेन। दोस्रो हाफपछि आक्रमक खेल पस्किएको मोरङ खेल बराबरीमा ल्याउन आक्रामक खेल खेलेपनि सफल हुन सकेन।
प्रतियोगिताको प्लेर अफ द म्याच आर्मीका गोल रक्षक विकेस कुथु घोषित भए। उनले नगद ११ हजार पाए।
बिहीबार सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबबीच खेल हुनेछ।
