एपीएफ विराट गोल्डकपको क्वार्टर फाइनलमा

विराटनगर। विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफ विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। विराटनगरको सहिद रंगशालामा मंगलबार राति सम्पन्न खेलमा भारतको शुभेदा दिल्ली फुटबल क्लबलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै एपीएफ क्वार्टर फाइनलमा प्रवेश गरेको हो।

खेलको निर्धारित समय गोल नभइकन बराबरीमा सकिएको थियो। त्यसपछि खेलको छिनोफानो टाइब्रेकरबाट गरिएको हो। टाइब्रेकरमा एपीएफका सुमन श्रेष्ठ, दिपेश धिमाल, मणिकुमार लामा, सविन गुरुङ र अनिल श्रेष्ठले गोल गरे।

शुभेदा दिल्लीका तर्फबाट राहिथ, पीसी र उदितको प्रहारमात्र सफल भएको थियो। रमेशको प्रहारमा एपीएफका गोलरक्षक एन्जल श्रेष्ठ बाधक बने। श्रेष्ठ खेलको प्लेयर अफ द म्याच घोषित भए।

सोमबार राति सम्पन्न पहिलो खेलमा आयोजक मोरङ रिजालको एफएले भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गरेको थियो।

बुधबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र आयोजक मोरङ एफसीबीच प्रतिस्पर्धा हुने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *