सेवानिवृत्त ब्रिगेडियर जनरलले दिए सेवा सुरु गरेको गणलाई पुस्तक उपहार

विराटनगर। नेपाली सेनाका सेवानिवृत्त ब्रिगेडियर जनरल (सहायक रथी) रामचन्द्र खत्रीले सबुज गणलाई उपयोगी पुस्तकहरु उपहार दिएका छन्। बाराको अमलेखगन्जस्थित गणको २६२ औं वार्षिकोत्सवको अवसर पारेर उनले ३० हजार रूपैयाँ बराबरको पुस्तक प्रदान गरेका हुन्।

गणको पुस्तकालयमा राखिएका पुस्तकले सैनिकहरूको व्यावसायिक तथा बौद्धिक क्षमताको अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सुकीर्ति पदक प्राप्त गरेका खत्री ‘क्याडेट क्याप्सुल’ पुस्तकका लेखकसमेत हुन्।

चर्चित लेखक समेत रहेका उनका विभिन्न पुस्तक प्रकाशित छन्। पूर्वब्रिगेडियर जनरल खत्रीले लेखेका २० वटा पुस्तक नेपाल सरकारको लोक सेवा आयोग, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीका अधिकृत, सुब्बा तथा अन्य दर्जाको प्रवेश परीक्षाका लागि चर्चित एवं प्रभावकारी मानिन्छन्।

उक्त गणमा खत्रीको पहिलो नियुक्ति भएको थियो। २०४८ सालमा सेकेण्ड लप्टन (सहायक सेनानी) मा भर्ना भएर ३३ वर्ष सेवा गरेका उनले हालै अवकाश पाएका हुन्।

उनले सन् २००० देखि नेपाल तथा विदेशमा पुस्तक कूटनीति (बुक डिप्लोमेसी) निरन्तर जारी राखेका छन् । हालसम्म ७ लाख मूल्य बराबरको पुस्तक उपहार स्वरूप प्रदान गरिसकिएको जानकारी खत्रीले दिए।

राष्ट्रसेवक कर्मचारीले सेवाबाट अवकाश पाएपछि आफूसँग भएका पेसा सम्बन्धी पुस्तक वा सन्दर्भ सामग्रीहरु उपयुक्त पुस्तकालमा दिँदा भावी पिँढीलाई सहयोग पुग्ने उनको भनाइ छ। पेसा सम्बन्धी पुस्तक वा सन्दर्भ सामग्री उपयुक्त पुस्तकालयमा हस्तान्तरण गर्न सेवा निवृत्त राष्ट्रसेवकहरुलाई उनको आह्वान छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *