भन्सार पास भएको भन्दा बढी ४५ लाखको सामान नियन्त्रणमा
विराटनगर। भन्सारमा पास गरेको भन्दा बढी परिमाणमा ल्याइएको सामान प्रहरीले सोमबार बेलुका नियन्त्रणमा लिएको छ। विराटनगर महानगरपालिका–१८ स्थित आइसीपी रोडबाट युपी८७ ९१८१ नम्बरको भारतीय ट्रकसहित सामान नियन्त्रणमा लिइएको हो।
उक्त ट्रकमा भन्सारबाट पास गरिएको भन्दा बढी मूल्यका सामानहरु रहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार करिब ४५ लाख रुपैयाँ बराबरको विद्युतीय, फुड सप्लिमेन्ट्री, शृंगारका सामान, मेडिकल उपकरण जस्ता वस्तु रहेको थियो।
ट्रक चालक भारतीय नागरिक ३५ वर्षीय मोहमद अस्लामलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। डीएसपी जोशीका अनुसार चालक र ट्रकसहित सामान सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको छ।
प्रहरी स्रोतका अनुसार भन्सारका कर्मचारीको मिलेमतोमा कम सामान देखाएर पास गरी विराटनगरतिर पठाइएको थियो। सोही सूचना प्रहरीसम्म पुगेपछि निगरानी गरिएको थियो।
