विराटनगरको हिमालय दर्शन कलेजमा पब्जी प्रतियोगिता
विराटनगर। विराटनगरस्थित हिमालय दर्शन कलेजले काठमाडौं उपत्यका बाहिर पहिलोपटक पब्जी प्रतियोगिता आयोजना गरेको छ।
विद्यार्थीमा चौतर्फी ज्ञान वृद्धिसँगै क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कलेजले जनाएको छ। प्रतियोगितालाई अन्तरविद्यालय (प्लस टु) का रुपमा प्रतिस्पर्धा गराइने इभेन्ट म्यानेजर सद्दाव आलमले जानकारी दिए।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २१, १५ र १० हजार नगद पुरस्कारका साथमा ट्रफी प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै प्रतिस्पर्धामा उत्कृष्ट खेलाडीले ४ हजार पुरस्कार पाउनेछन्।
समयअनुसार विद्यार्थीलाई अगाडि बढ्ने वातावरण निर्माण गर्नुपर्नेमा कलेजका प्रमुख भरत सापकोटाले बताए। प्रतियोगितामा मोरङ र सुनसरीका १५ विद्यालयको सहभागिता रहेको सापकोटाले जानकारी दिए। कलेजले विद्यार्थीमा सबै क्षेत्रको ज्ञान होस् भनेर खेलकुदसँगै वक्तृत्वकला, हाजिरीजवाफ, कविता, वादविवाद प्रतियोगिता लगायतका अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको उनले बताए।
