चीनले प्रत्येक ३ वर्षमा ६० नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने
काठमाडौं। चीनले नेपाली विद्यार्थीलाई प्रत्येक तीन वर्षमा छात्रवृत्ति दिने भएको छ। चीनको सिचवान प्रान्तीय सरकारले ६० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको हो।
चीन भ्रमणमा रहेको कांग्रेस प्रतिनिधिमण्डल र सिचवान प्रान्तीय सरकारका मन्त्री र नेताहरूको छलफलपछि सिचवान सरकारले छात्रवृत्ति दिने घोषणा गरेको हो। छलफलमा कांग्रेस नेतृ सुजाता कोइरालाले नेपाली विद्यार्थीका लागि छात्रवृत्ति तथा चीनबाट लुम्बिनी र लुम्बिनीबाट पोखरा सिधा उडान सुरु गर्न आग्रह गरेकी थिइन्।
उनले आफूले राखेको एउटा प्रस्ताव तुरुन्त सम्बोधन भएको र अर्काे प्रस्ताव पनि चाँडै सम्बोधन हुने विश्वास समेत व्यक्त गरेकी छन्।
चिनियाँ कूटनीतिज्ञ सर्लाले कोइरालाको भ्रमणलाई आफूहरूले महत्वपूर्ण रूपमा लिएको र छात्रवृत्तिको विषय भ्रमणको महत्वपूर्ण उपलब्धि भएको बताइन्। चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका सबै राजनीतिक दलहरूसँग समानस्तरको सम्बन्ध राख्न चाहेको धारणा समेत उनले राखिन्।
