‘भ्रष्टाचारविरोधी अभियान देशव्यापी बनाउँछौं’
विराटनगर। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरूद्ध आवाज उठाउँदै सुशासनको अभियानलाई देशव्यापी बनाउने बताएका छन्।
यसैका लागि पार्टीले हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान सञ्चालन गरेको उनको भनाइ छ। अभियानका क्रममा विराटनगरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।
अहिलेको सरकार भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले बनेको उनको आरोप छ। आफ्नो सरकारले भ्रष्टाचारीलाई कारबाहीमा ल्याउने अभियान चलाएपछि उनीहरुलाई संरक्षण गर्न कांग्रेस–एमाले गठबन्धनको सरकार बनेको प्रचण्डले बताए।
उनले भने, ‘हामीले सुशासन कायम गर्न खोज्यौं । भ्रष्टाचार विरोधी अभियान सुरु गरेबापत, भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन थालेबापत भ्रष्टाचारीको संरक्षण गर्ने उद्देश्यले नै अहिलेको गठबन्धन सरकार बनेको हो।’
माओवादीले सञ्चालन गरेको तराई–मधेश जागरण अभियानको बुधबार तेस्रो दिन हो। झापाबाट सुरु भएको अभियानको दोस्रो दिन माओवादीले मोरङमा खबरदारी एवं जनसभा गरेको थियो।
