पञ्चेश्वर शिव मन्दिरमा ७८ किलोको त्रिशूल स्थापना
विराटनगर। मोरङको बुढीगंगा–१ स्थित पञ्चेश्वर शिव मन्दिर परिसरमा महाशिवरातिको अवसरमा त्रिशूल स्थापना गरिएको छ। उक्त त्रिशूलको वजन ७८ किलोग्राम र १८ फिट उचाइ छ।
उक्त मन्दिर विराटनगर महानगपालिका र बुढीगंगा गाउँपालिकाको सीमाविन्दुमा राखिएको छ। सधैंजसो श्रद्धालु भक्तजनको उपस्थिति रहने मन्दिरमा शिवरात्रि र अन्य पर्वहरूमा विशेष चहलपहल हुने गरेको छ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धि पौडेलका अनुसार श्रद्धालु भक्तजनबाट जुटाइएको ३५ हजार रुपैयाँमा त्रिशूल बनाइएको हो। त्रिशूल स्थापना गर्न बनाइएको पक्की संरचना १२ हजार रुपैयाँ खर्च भएको उनले बताए।
मन्दिरलाई थप व्यवस्थित गर्दै धार्मिक अनुष्ठानहरु गर्न मिल्ने खालका संरचना निर्माणको योजना पनि बनाइएको छ । पौडेलका अनुसार यसका लागि कोशी प्रदेश सरकारसँग ५० लाखको बजेट माग गरिएको छ।
भक्तजनहरू बस्ने हललगायत संरचना बनाउने समितिको योजना छ। मन्दिर व्यवस्थापनका लागि पौडेलको अध्यक्षतामा १७ सदस्यीय समिति सक्रिय छ।
समितिकी सदस्य मीना विष्टले स्थानीय दाताको सहयोगबाट त्रिशूल स्थापना गरिएको बताइन्।



