धनकुटा, मोरङ र झापामा दुर्घटना, ३ जनाको मृत्यु
विराटनगर। मोरङ, धनकुटा र झापामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।
मोरङको बूढीगंगा गाउँपालिका–५ हात्तीमुडास्थित भित्री सडक खण्डमा सीटी सफारी मोटरसाइकल एकआपसमा ठोक्किएर बुधबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रदेश १–०२–००३ ह ५०१७ नम्बरको सफारी र ज १२ प ६८७२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक बूढीगंगा–५ का २८ वर्षीय फिरोजकुमार सिक्दारको मृत्यु भएको हो।
सफारी चालक सुनसरीको दुहबी–११ का ४० वर्षीय निखिल चौधरी र सफारीमा सवार ४० वर्षीया शिलादेवी चौधरी घाइते भएका छन्। दुवै जनाको विराट नर्सिङ होममा उपचार भइरहेको छ।
कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–६ गोठगाउँमा ट्रकको ठक्करबाट मंगलबार राति पैदलयात्री वृद्धाको मृत्यु भएको छ। धरानबाट हिलेतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ००४९ नम्बरको ट्रकले ठक्कर दिँदा धनकुटा–६ गोठगाउँकी अन्दाजी ७० वर्षीया नन्दकुमारी राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्रक र चालक धनकुटा–१ का ३९ वर्षीय भरतकुमार राईलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
यसैगरी, झापाको गौरीगञ्ज गाउँपालिका–१ मा दुर्घटना हुँदा शिवसताक्षी नगरपालिका–४ का १७ वर्षीय सुरज राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ। कुञ्जीबारीबाट धानगाडातर्फ जाँदै गरेको बा ६५ प ८७८६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर मंगलबार दुर्घटनामा परेको थियो।
