माओवादीको कार्यक्रमका लागि विद्यालय बन्द
विराटनगर। नेकपा (माओवादी केन्द्र) ले आयोजना गर्ने ‘खबरदारी सभा’ का लागि मोरङको कानेपोखरीका केही विद्यालय बन्द गराइएका छन्।
तराई-मधेश जागरण अभियान झापाको कचनकवलबाट सोमबार सुरु भएको कार्यक्रम मंगलबार कार्यक्रम मोरङको कानेपोखरीमा मंगलबार राखिएको छ।
त्यसका लागि ४ वटा विद्यालय बन्द गर्न माओवादीले दबाब दिएको छ। माओवादी केन्द्र कानेपोखरीले विद्यालयलाई पत्र पठाएर पठनपाठन बन्द गर्न भनेको हो।
कानेपोखरी–६ रमाइलोमा तराई–मधेश जागरण अभियान अन्तर्गतको खबरदारी सभा कार्यक्रमका लागि पठनपाठन बन्द गर्न भनेर माओवादीले ४ वटा विद्यालयलाई पत्र पठाएको छ। माओवादीले बालजगत इङ्लिस बोर्डिङ स्कुल, पल एकेडेमी, माउण्ट हर्मोन एकेडेमी र जेनिथ इङ्लिस बोर्डिङ स्कुललाई पत्र पठाएर फागुन १३ गते मंगलबार १ दिन विद्यालय बन्द गर्न भनेको हो।
तीमध्ये पर्ल एकेडेमी र जेनिथ इङ्लिस स्कुलले आज एक दिन बिदा दिएका छन्।
पार्टीको गाउँ कमिटीका अध्यक्ष दुर्गाबहादुर कार्कीले फागुन ८ गतेको मितिमा विद्यालयहरुलाई पठाएको पत्रमा ‘गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वमन्त्री देव गुरुङलगायतका नेताहरुको उपस्थितिमा बृहत् जनसभा कार्यक्रम आयोजना गरिएकाले सो दिन विद्यालय बन्द गरिदिन’ भनिएको छ।
पत्रमा भनिएको छ, ‘कानेपोखरी–६ रमाइलोमा बृहत जनसभा ९ देखि १ बजेसम्म हुने भएकाले सवारीसाधनको चाप अत्यधिक हुने र उच्च ध्वनि भएका उपकरणहरुको प्रयोगका कारण विद्यार्थीमा ध्वनि प्रदूषण हुने भएकाले विद्यालय बिदा गरी कार्यक्रममा आवश्यक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध छ।’
अध्यक्ष कार्कीले पार्टीको अभियानअन्तर्गत रमाइलो बजारमा कार्यक्रम राखिएको बताए । बालबालिकालाई असर गर्ला भनेर मात्र कार्यक्रमस्थल नजिकका २ वटा विद्यालयलाई बन्द गर्न आग्रह गरेको उनको भनाइ छ।
विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ ले विद्यालय हाताभित्र र यसको वरिपरि विद्यालय सञ्चालनमा बाधा पुग्नेगरी राजनीतिक सभा, सम्मेलन, नारा, जुलुस वा विरोधका गतिविधि सञ्चालन गर्न बन्देज गरेको छ। उक्त व्यवस्थाविपरीत माओवादीले पठनपठान नै बन्द गर्न दबाब दिएर स्कुलको छेउमा कार्यक्रम गर्न लागेको हो।

