विराटनगरमा प्रदेशस्तरीय अन्तर क्याम्पस छात्रा फुटसल
विराटनगर। विराटनगरमा कोशी प्रदेशस्तरीय अन्तरक्याम्पस छात्रा फुटसल प्रतियोगिता सुरु भएको छ। स्ववियूको समन्वयमा कोशी प्रदेशभरिका बीबीए अध्ययन हुने क्याम्पसका छात्राहरुले प्रतियोगितामा भाग लिएका छन्।
८ टिम सहभागी प्रतियोगिताका विजेताले २२ हजार २ सय २२ रुपैयाँ, द्वितीय हुने टिमले १२ हजार २ सय २२ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगितामा उत्कृष्ट गोलकिपरलाई २ हजार २ सय २२ रुपैयाँ, सबैभन्दा बढी गोल गर्नेलाई ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कारका साथमा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
त्यस्तै. प्लेयर अफ द म्याच, फेयर प्ले अवार्ड पनि प्रदान गरिने आयोजक समितिकी रोनिष्मा पोखरेलले जानकारी दिइन्। कोशी प्रदेशभरिका बीबीए अध्ययन हुने क्याम्पसका छात्राहरुबीच सहकार्य होस् भनेर स्ववियूले प्रतियोगिताको समन्वय गरेको सभापति जसवन्त पौडेलले बताए । प्रतियोगिता सोमबारसम्म सञ्चालन हुनेछ।
महेन्द्र मोरङ बहुमुखी क्याम्पसको बीबीए कार्यक्रमका विद्यार्थीको आयोजनामा सुरु भएको प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरेका थिए।
