विद्यार्थीलाई खाजा खुवाउन ७ प्रदेशका ७ पालिकामा ‘मेगा किचन’
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ प्रदेशका विभिन्न ७ वटा पालिकामा ‘मेगा किचन’ सञ्चालन गर्ने भएको छ। ‘मेगा किचन’ भनेको स्थानीय तह भित्र रहेका विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई एकीकृत गरी खाजा खुवाउने कार्यक्रम हो।
मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार मेगा किचेन स्थापना र सञ्चालन सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहलाई ५० लाखको दरले बजेट तथा कार्यक्रम पठाइएको छ।
मोरङको विराटनगर महानगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, मकवानपुरको हेटौंडा उपमहानगरपालिका, कास्कीको पोखरा महानगरपालिका, दाङको घोराही उपमहानगरपालिका, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा मेगा किचन सञ्चालन हुने जनाइएको छ।
मेगा किचन स्थापना कार्य-सञ्चालन संहिता, २०८१ अनुसार गर्न केन्द्रले निर्देशन दिएको अधिकृत शान्ति बिष्टले जानकारी दिइन्।
