चर्च ब्वाइजलाई हराउँदै झापा ११ सेमिफाइनलमा
झापा। ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडमाथि कठिन जित निकाल्दै झापा ११ एफसी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
भद्रपुरस्थित मेची रंगशालामा आज शनिबार भएको दोस्रो क्वार्टर फाइनल खेलमा झापा ११ ले चर्च ब्वाइजलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
झापाले यसअघि पहिलो चरणमा मछिन्द्र एफसीलाई हराएको थियो। आजको खेल पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगिएको थियो। खेलको १४ औँ मिनेटमा झापाका एरोन थापाले गोल गर्दै टिमलाई अग्रता दिलाए।
चर्च ब्वाइजका किपर कृसल मोक्तान अगाडि बढेको अवस्थामा थापाले मैदानको मध्य भागबाट लगेको बललाई जाली चुमाए।
खेलको ४१ औँ मिनेटमा चर्च ब्वाइजका विक्रम धिमालले गोल गर्दै खेललाई बराबरीमा पुर्याए।
झापाका प्रदिप बुढाथोकीले चर्चका सुजन डंगोललाई फाउल गरे। त्यसपछि एरिक विष्टको फ्रिकिक प्रहारलाई सदुपयोग गरी धिमालले गोल गरेका थिए।
खेलको ७९ औँ मिनेटमा झापाका कप्तान पेमा तामाङले टिमका लागि थप एक गोल गरे। चर्चका गोलकिपर मोक्तानले पञ्च गरेको बल किलियर नहुँदा तामाङले टिमलाई २–१ को अवस्थामा ल्याए।
घरेलु दर्शकको समर्थन रहेको झापाले गोल गर्ने केही अवसरहरू गुमाएको थियो। खेलको २४ औँ मिनेटमा प्रदिप बुढाथोकीको पेनाल्टी एरियाको हेडर चर्चका किपर मोक्तानले नियन्त्रणमा लिए।
खेलको ३२ औँ मिनेटमा एरोन थापाले पेनाल्टी एरिया नजिकैबाट गरेको प्रहार किपर मोक्तान रोके। पहिलो हाफको अतिरिक्त समयमा एरोनको कर्नर किकमा सुमन मगरको हेडेर क्रसबार माथिबाट बाहिरियो।
खेलको ३७ औँ मिनेटमा चर्चका प्रशान्त लक्समले पेनाल्टी एरियाबाट गरेको प्रहार झापाका गोलकिपर सन्दिप लिम्बूले रोके। खेलको ३१ औँ मिनेटमा उमेश राईको प्रहार गोलकिपर लिम्बूले बचाउ गरे।
खेलको प्लेयर अफ द म्याच झापा ११ का पेमा तामाङ भए। उनले नगद २१ हजार र ट्रफी पाए। खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा झापाका प्रशिक्षक अंगुरकुमार खड्गीले पछिल्लो समय एउटै टिमवर्कका कारण ए डिभिजन टिमसँग प्रतिस्पर्धा गर्न सहज भएको बताए।
चर्च ब्वाइजका व्यवस्थापक सविन डाँगीले मोफलसमा प्रतियोगिता जुधेर समस्या आएको बताए। उनले क्लबको मुख्य टिम अहिले हेडौँटामा रहेकाले सबै खेलाडी यहाँ ल्याउन नसक्दा हार व्यहोर्नु परेको बताए।
आइतबारको तेस्रो क्वार्टर फाइनल खेल न्यु रोड टिम (एनआरटी) र बंगलादेशको काउरन बाजार प्रगति संघबीच हुने छ।
