विराटनगरबाट काठमाडौं जान लागेका व्यक्ति अमेरिकी डलरसहित पक्राउ
विराटनगर। अमेरिकी डलर बोकेर विराटनगर विमानस्थल हुँदै काठमाडौं जान लागेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ का ३४ वर्षीय नौसाद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार अन्सारीलाई विमानस्थलबाट शुक्रबार राति ८ बजेतिर पक्राउ गरिएको हो। यती एयरलाइन्सको जहाजबाट काठमाडौं जाने तयारीमा रहेका उनको साथमा अमेरिकी डलर पाइएको थियो।
प्रहरी वरिष्ठ नायव निरीक्षक श्याम सुवेदी नेतृत्वको टोलीले जाँच गर्दा अन्सारीले लगाएको कोटको गोजीभित्र १ सय दरका ८१ थान डलर (करिब ११ हजार २ सय १४ रुपैयाँ) बरामद भेटिएको थियो।
आफूले बोकेको रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ। यति धेरै परिमाणमा अमेरिकी डलर बोकेर हिँड्न नेपालमा प्रतिबन्ध रहेको प्रहरीले जनाएको छ। अन्सारीले भने विदेशबाट आएका साथीलाई नेपाली रूपैयाँ दिएर आफूले डलर लिएको प्रहरीलाई बताएका छन्।
