विराटनगर महानगरद्वारा अन्तरविद्यालय विज्ञान प्रदर्शनी
विराटनगर। विराटनगर महानगरपालिकाले महानगरस्तरीय अन्तरविद्यालय विज्ञान प्रदर्शनी आयोजना गरेको छ। प्रदर्शनीको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे।
विराटनगरस्थित आदर्श माविमा आयोजित प्रदर्शनीलाई सम्बोधन गर्दै मेयर कोइरालाले विज्ञान प्रदर्शनीले विद्यार्थीहरूमा प्रतिस्पर्धी क्षमताको विकाससँगै खोज र अनुसन्धानमा लाग्न थप प्रेरित गर्ने बताए। उपमेयर शिल्पा निराला कार्कीले विद्यालयस्तरदेखि नै विद्यार्थीहरूलाई खोज र अनुसन्धानमा लाग्न विज्ञान प्रदर्शनीले थप प्रेरित गर्ने बताइन्।
९ देखि १२ कक्षा अध्ययनरत विद्यार्थीमध्ये हरेक विद्यालयबाट १ जना छात्रासहित ५ जना विद्यार्थीले सहभागिता जनाएको शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराईले बताए।
सहभागी मध्येबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना विद्यालय छनौट गरिनेछ। प्रथम, द्वितीय, तृतीय र सान्त्वना विद्यालयलाई क्रमशः २०, १५, १० र ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।
महाशाखाका अधिकृत रमेश ढुंगानाका अनुसार ५ वटा विधामा उत्कृष्ट हुने विद्यालयलाई प्रोत्साहनस्वरुप २–२ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ। २०७६ सालदेखि सुरु भएको प्रदर्शनीमा गत वर्ष १० हजारभन्दा बढीले अवलोकन गरेका थिए। यस वर्ष १५ हजारभन्दा बढी विद्यार्थीले प्रदर्शनी अवलोकन गरेको ढुंगानाले जानकारी दिए।
