महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र सजाइँदै

काठमाडौं। महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ क्षेत्रलाई व्यवस्थित, सफा र हराभरा बनाइँदै छ। पशुपति क्षेत्र विकास कोषले फागुन १४ गते हुने महाशिवरात्रि पर्वका लागि तयारी तीव्र बनाएको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेर नौवटा उपसमितिमार्फत व्यवस्थापनको काम भइरहेको छ। कोषका प्रवक्ता रेवती रमण अधिकारीका अनुसार सुरक्षा, प्रचारप्रसार व्यवस्थापन, साधु सन्तको सेवा, धार्मिक कार्यक्रम लगायतलाई फरक फरक उपसमिति बनाइएको बताए।

पशुपति दर्शन मार्ग सहज बनाउने साथै साजसज्जा गर्ने काम भइरहेको उनको भनाइ छ। जनशक्ति परिचालन गरेर सरसफाइ गरिरहेको साथै शिव र शक्तिसँग सम्बन्धित कलाकृतिहरू सहितको चित्र बनाउने काम पनि भइरहेको छ।

दर्शनार्थीहरुलाई सकेसम्म दुःख नपाउन र छिटो एवं सुरक्षित तरिकाले दर्शन गर्ने गरी व्यवस्थापनमा ध्यान दिइएको पनि अधिकारीले बताए। दर्शनका लागि चारवटै ढोका खोलेर जुन ढोकामा पुगिन्छ त्यही ढोकाबाट दर्शन गर्ने व्यवस्थापन मिलाइने उनले बताए। मन्दिरको चारै वटा ढोका बिहान २ः३० बजे नै खोलिने भएको छ।

कोषले साधुसन्तहरुलाई भोजनको व्यवस्था गर्नेहरूका लागि तिलगंगासम्म आउने व्यवस्था मिलाएको छ। भक्तजनहरूलाई सजिलोका लागि गत वर्षको अनुभवको आधारमा सार्वजनिक यातायात सुचारु गर्ने प्रवक्ता अधिकारीले जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *