उदयपुरको गाईघाटलाई कोशी प्रिमियर लिगको उपाधि
सुनसरी । कोशी प्रदेश प्रिमियर लिगको उपाधि गाईघाटले जितेको छ। बिहीबार धरान रंगशालामा भएको खेलमा पाँचथरलाई ११–० को फराकिलो गोलअन्तरमा पराजित गर्दै उपाधि जितेको हो।
उपाधिसँगै राष्ट्रिय लिगको छनौट प्रतियोगिताको रुपमा रहेको अन्तर प्रदेश लिगमा छनौट भएको छ। प्रदेश लिगमा दोस्रो स्थानमा रहेको धनकुटाको देउराली युथ क्लब पनि अन्तर प्रदेश लिगका लागि छनौट भएको छ।
फाइनल चरणमा ७ अंकका साथ गाईघाट लिग च्याम्पियन भएको हो। धनकुटा ४ अंकका साथ दोस्रो भयो । खोटाङको बुइपा–११ तेस्रो स्थान भयो। धनकुटा र खोटाङको समान ४ अंक भए पनि गोलअन्तरमा धनकुटा दोस्रो भएको हो।
उपाधिसँगै गाईघाटले नगद २ लाख, दोस्रो धनकुटाले १ लाख ५० हजार, तेस्रो भएको खोटाङले १ लाख २५ हजार र चौथो भएको पाँचथरले १ लाख पुरस्कार प्राप्त गरेको छ। गाईघाटका कप्तान युवराज थापा उत्कृष्ट खेलाडी हुँदै ५० हजार रुपैयाँ प्राप्त गरे।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर गाईघाटकै निम छिरिङ लामा, उत्कृष्ट स्ट्राइकर गाईघाटकै प्रविण राई, उत्कृष्ट कोच गाईघाटका किरणकुमार कार्की, उत्कृष्ट डिफेन्डर बुइपाका रामशुर राई भए भने बेष्ट मिडफिल्डर देउरालीका विपिन लिम्बू भए। उनीहरूलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो।
