सुनसरीको कोशी गाउँपालिकामा बर्डफ्लु, सतर्कता अपनाउन आग्रह

सुनसरी। सुनसरीको कोशी गाउँपालिकामा रहेको कृषि फार्ममा बर्डफ्लु पुष्टि भएको छ। कोशी गाउँपालिकाको वडा नम्बर ६ स्थित हाँस पालन गरिएको सप्तकोशी कृषि फार्ममा बर्डफ्लु रोग पुष्टि भएको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बर्डफ्लु पुष्टि भएसँगै कृषि फार्मलाई केन्द्र बिन्दु मानेर चार किल्ला तोकेर नियन्त्रण गर्न सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेको छ।

सप्तकोशी फार्मबाट पूर्वतर्फ ५० मिटरको दूरीमा रहेको कच्ची बाटोसम्म, पश्चिममा खुल्ला मैदान २०० मिटरको दूरीसम्म, खुला मैदान १५० मिटरको दूरीसम्म, खुल्ला मैदान ३०० मिटरको दूरीसम्म चार किल्ला तोकिएको छ। त्यस क्षेत्रमा सतर्कता अपनाउन पनि भनिएको छ।

‘चार किल्ला भित्रको क्षेत्रमा बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ को नियम ५ र ६ बमोजिम रोग नियन्त्रण कार्य सञ्चालन गराउन तथा यस क्रममा सुनसरी जिल्लाको अन्य स्थानमा रोग प्रमाणित भएमा पनि सोहीबमोजिम रोग नियन्त्रण कार्य सञ्चालन गर्न आवश्यक समन्वय, सहजीकरण तथा सहकार्यको लागि अनुरोध छ,’ मन्त्रालयको पत्रमा भनिएको छ।

उक्त फार्ममा रहेका २ सय ५० भन्दा बढी हाँस मरेको जनाइएको छ। बाँकी रहेको हाँस तथा कुखुरा ‘डिस्पोज’ गरिने भएको छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने बर्डफ्लु नियन्त्रण समितिको बैठक बसेर सबै खालका सतर्कता अपनाइने भएको छ।

उक्त क्षेत्र आसपासका फर्महरुमा पनि नमुना संकलन गरेर परीक्षण गरिने भएको छ। माघ अन्तिम सातातिर उक्त फर्ममा हाँस मर्न थालेका थिए । काठमाडौं नमुना पठाएर केन्द्रीय पशुपक्षी रोग परीक्षण प्रयोगशालामा जाँच गर्दा बर्डफ्लु पुष्टि भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *