विराट गोल्डकप फागुन १९ देखि, १० टिम सहभागी हुने

विराटनगर। नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ। प्रतियोगितामा २ वटा भारतीयसहित १० वटा टिम सहभागी हुने पक्का भएको छ। विराटनगरमा सोमबार पत्रकार सम्मेलनमार्फत भारतका २ र नेपालका विभागीयसहित ८ गरी प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने जानकारी दिइयो।

गोल्डकप संयोजक नवीन रिजालले प्रतियोगितामा भाग लिने टिमको टुंगो लागिसकेको बताए। भारतबाट साउथर्न समिति फुटबल क्बल कोलकाता र सुदेभा दिल्ली फुटबल क्लब आउने उनको भनाइ छ। गोल्डकपमा नेपालका विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपीएफ फुटबल क्लबसहित थ्रीस्टार फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, एनआरटी क्लब, चर्च ब्वाइज फुटबल क्लब तथा रिजालको मोरङ एफसीले सहभागिता जनाउने छन्।

रिजालका अनुसार ‘विराटनगरको साथ, फुटबलको विकास’ भन्ने मूल नाराका साथ फागुन १९ गतेदेखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ। विराटनगरको सहिद रंगशालामा हुने गोल्डकप आयोजनाका लागि मैदान मर्मत र सरसफाइको काम भइरहेको जानकारी दिँदै रिजालले प्रायोजकहरुको लगभग टुंगो लागिसकेको बताए।

गोल्डकप सम्पन्न गर्न १ करोड ३५ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिताको विजेता टिमलाई ११ लाख र उपविजेतालाई ५ लाख रूपैयाँ नगद पुरस्कार प्रदान गरिने छ। त्योबाहेक उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ताले १५–१५ हजार रूपैयाँ पाउने छन्।

पुरस्कारबापत दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र सर्वोकृष्ट खेलाडीलाई ५१ हजार रूपैयाँ प्रदान गरिने जानकारी रिजालले दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *