बेलुन विस्फोट घटना छानबिन गर्न ८ सदस्यीय समिति

काठमाडौं। पोखरामा आयोजित पोखरा भ्रमण वर्ष २०२५ कार्यक्रम उद्‍घाटन समारोहमा भएको बेलुन विस्फोट घटनाको छानबिन गर्न आठ सदस्यीय समिति गठन गरिएको छ।

शनिबारको घटनामा घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।

मन्त्रीस्तरको निर्णयबाट आइतबार बिहान कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन भएको हो।

समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उपअनुसन्धान निर्देशक सुरेशकुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री सदस्य सचिव छन्।

समितिमा एक जना विस्फोटक पदार्थ विज्ञसमेत हुने जनाइएको छ। समितिले घटनाको के कसरी भयो भन्नेबारे विस्तृत छानबिन र आगामी दिनमा यसप्रकारका कार्यक्रम गर्दा पूर्वसतर्कता र अवलम्वन गर्नुपर्ने उपायसहितको प्रतिवेदन पेस गर्ने छ। समितिलाई छानबिनका लागि १५ दिनको समय दिइएको गृह मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *