महिलाको सिक्री लुटियो, एक्सरे गर्दा पेटमा देखियो
सुनसरी। इटहरी उपमहानगरपालिका–२ हवाइचोकमा हाट भर्न पुगेकी एक महिलाबाट सुनको गहना लुटिएको छ। लुटमा संलग्न व्यक्तिले गहना निलेका थिए।
इटहरी–३ की ४७ वर्षीया बेदकुमारी खड्काले गलामा लगाएको करिब एक तोलाको सुनको सिक्री लुटिएको हो। लुटमा संलगन रहेको आरोपमा पर्साको वीरगन्ज महानगरपालिका–२० घर भएका २२ वर्षीय सुनिलकुमार राय र ११ वर्षीय एक बालकलाई प्रहरीले पक्राउ गरेको छ।
घटनाबारे जानकारी पाएपछि स्थानीय सामुदायिक प्रहरी बिटबाट सहायक निरीक्षक हिमालयकुमार मगरको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।
महिलाबाट लुटिएको सिक्री ११ वर्षीय बालकले निलेका हुन्। पक्राउपछि जाँच गर्दा कतै सुन फेला नपरेपछि बालकले आफूले सुन निलेको बताएका थिए। त्यसपछि उनको पेटको भिडियो एक्सरे गरिएको थियो। त्यस क्रममा उनको पेटमा सिक्री देखिएको हो।
सिक्री शौचमार्फत बाहिर निस्कन सक्ने, ननिस्के शल्यक्रिया गरेर निकाल्नुपर्ने चिकित्सकले बताएका छन्। हाल ती बालकलाई निगरानीमा अस्पतालमै राखिको प्रहरीले जनाएको छ।
