सोरुमबाट चोरी भएको कार भेटियो, १ जना पक्राउ

विराटनगर। विराटनगरमा सोरुम फुटाएर चोरी गरिएको कार प्रहरीले फेला पारेको छ। चोरीमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन्।

मोरङ प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर हेमराज ओलीका अनुसार विराटनगर महानगरपालिका–३ पिपल चोकनजिक रहेको पूजा इन्टरनेशनल नेपाल प्रालिले सञ्चालन गरेको सोरुमबाट भक्स वागन कम्पनीको बा ०१३० च ८५८१ नम्बरको कार चोरी भएको थियो।

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। बिहानका राति करिब २ बजेतिर मुख्य गेट खोलेर भित्र छिरेका व्यक्तिले सोरुमको सिसा भएको ढोका फोडेर चोरी गरी लगेको सीसी क्यामेरा फुजेटमा देखिन्छ।

कारको करिब ८० लाख रुपैयाँ पर्ने जानकारी सोरुमका कर्मचारीले बताएका छन्। चोरी भएको रातो रंगको कार प्रहरीले सुनसरीको इनरुवामा फेला पारेको हो।

कार चोरीमा संलग्न भएको आरोपमा सुनसरीको गढी गाउँपालिका–४ घर भइ विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बिनले सोरुमको सिसा फुटाउन सानो कंक्रिटको ब्लक प्रयोग गरेको प्रहरीको भनाइ छ। सोरुमभित्र एउटा मात्रै गाडी थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *