गुनासो छैन
आफ्नो धर्तीलाई छोडी आउनु न रहर मेरो न बाध्यता नै
नियतिले यही नै लेख्यो मलाई ल्याइपुर्यायो ठेल्दै ठेल्दै
नयाँ परिवेश, भाषा संस्कृति लाग्थ्यो अनौठो अनि
सम्झन पुग्थें, आफ्नै परिवेश प्यारो अझै पनि
कहिले भाषाले पिरोल्थ्यो अनि चालचलन उस्तै गाह्रो
अनि सम्झन्थें, कल्पन्थें मेरै भाषाभेष धर्तीभरी प्यारो
तर खैर गुनासो छैन, म जुट्दै गएँ, सिक्दै गएँ
जुधाईकै बलमा आफूलाई कस्दै पौरखी बन्दै गएँ।
गुमाएँ केही पक्कै तर पाएँ अनगिन्ती कला, सीप, सपना र आशा
यिनै आशा र भरोसाको सिँढी चढ्दै दूर गर्दैछु सारा निराशा
परदेशले दिएको छ मलाई गरिखाने शिक्षा, नकि परनिर्भरता
स्वतन्त्रता, स्वाभिमान, आत्मसम्मान र स्व–स्वतन्त्रता
रत्ति पनि नभइ विचलित बुझिरहेछु सदा कर्मको महत्व
जुझ्दै समस्यासँग, निर्बाध सदा, यही रहेछ जीवन शाश्वत
कर्मभूमिले सिकाएन अल्छीपना, परनिर्भरता, परशोषण
खुसी छु म आज पाएँ शिक्षा, गर्न कानुनको परिपालना
गुनासो एकै छ, मेरो देशमा पनि भइदिए कदर परिश्रमको
सबै समान भइदिए आँखामा राज्यको, शक्ति, कानुनको
अझै पनि झिनो आशा छ, अवश्य त्यो दिन आउने छ
अमनचैन, विकास, आत्मनिर्भरताको किरण छाउने छ।
-भरतपुर। हालः अष्ट्रेलिया
