घरमै हत्या, छोरा बुहारीसहित ६ जना पक्राउ
इलाम। सूर्याेदय नगरपालिका–११, सुन्तलेका ५१ वर्षीय धनराज राईको हत्या भएको छ। प्रहरीका अनुसार उनी सोमबार घरको भुइँतलाको कोठामा मृत अवस्थामा भेटिएका थिए।
जिल्ला प्रहरी कार्यालयका डीएसपी मानबहादुर राईका अनुसार टाउकोमा गहिरो चोट लागेको अवस्थामा शव भेटिएको हो। रगत लागेको कोदालो र फलामको रड कोठामा फेला परेको उनले बताए।
घरेलु हतियार प्रहार गरी उनको हत्या भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले मृतकका छोरा र बुहारीसहित ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मृतकका छोरा २९ वर्षीय एडबर्ड राई, उनकी श्रीमती २६ वर्षीया मालती तामाङ राईलगायत छन्। यसैगरी, छिमेकीहरु २४ वर्षीय नवीनकुमार राई, २६ वर्षीय निसान राई, २० वर्षीय राजीव राई र २३ वर्षीय दिवस राई पनि पक्राउ परेका छन्।
उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान अघि बढाइएको डीएसपी राईले सरल पत्रिकालाई जानकारी दिए।
