जापानमा स्वास्थ्य हेरचाहको क्षेत्रमा काम गर्न २० हजार नेपाली लगिने

काठमाडौं। जापानले स्वास्थ्य हेरचाहको क्षेत्रमा काम गर्ने गरी २० हजार नेपालीलाई लैजाने भएको छ। नेपाल र जापानका कम्पनीहरूले सोमबार काठमाडौंमा संयुक्त रूपमा कार्यक्रम आयोजना गरी यो जानकारी दिएका हुन्।

‘नेपाल–जापान सेवा आदान प्रदान कार्यक्रम’ अन्तर्गत २० हजार हेरचाहकर्ता (केयर गिभर) जापान लैजाने घोषणा गरिएको हो। जापानका जेन्काउ रिसर्च इन्स्टिच्युटका, कोजाइ कोसन कर्पोरेसन प्रोग्रेसिभ स्टाफ एजेन्सी र नेपालका काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, सन एन्ड कम्पनी प्रालि र सान्दिपनी ग्रुप अफ एजुकेसनका प्रतिनिधिहरूले यसबारेको समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

स्वास्थ्य सेवाका क्षेत्रमा जापानमा कामदार आवश्यक रहेकाले नेपालीलाई दक्ष बनाउँदै जापानको रोजगारीमा अवसर सिर्जना गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको सन्दिपनी ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक नरेश ओझाले जानकारी दिए।

जापानको स्वास्थ्य सेवा क्षेत्रमा नेपालबाट पठाउने काम सन्दिपनीले गर्नेछ। १८ वर्षदेखि ४५ वर्षसम्मका व्यक्ति जापानको यस्तो रोजगारीमा जान योग्य हुने जनाइएको छ। जापानको ‘केयर गिभिङ’ क्षेत्रमा जान चाहने नेपालीका लागि नर्सिङ विषयको अध्ययन अनिवार्य गरिएको छैन। जापानी भाषाको आधारभूत ज्ञान ‘एन फोर’ लेभलको भाषा परीक्षा उत्तीर्ण गरी तोकिएको सीप परीक्षणमा पास गरेका नेपाली जापानको केयरगिभिङ क्षेत्रमा जान पाउनेछन्।

भाषा परीक्षा र सीप परीक्षणमा उत्तीर्ण भएकाहरूलाई अन्तर्वार्तामार्फत जापानी कम्पनीले छनोट गर्ने जनाइएको छ। छानिएका नेपाली केयरगिभरलाई जापानी कम्पनी पीएसएस खाइगोले जापानका विभिन्न स्थानमा रोजगारी दिनेछ।

जापानमा केयरगिभरको काम गर्नेहरूले मासिक दुई लाख जापानी येनसम्म आम्दानी गर्न सक्ने जानकारी दिइएको छ। नेपालीहरूलाई जापानको रोजगारी मात्र नभएर नेपाली युवालाई अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा तालिम प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको सान्दिपनीका कार्यकारी निर्देशक ओझाले बताए।

यसरी जापान जानेहरूले तीनदेखि पाँच वर्षसम्म रोजगारीको अवसर पाउनेछन्। त्यसपछि नेपाल फर्कन उनीहरूलाई प्रोत्साहन गरिने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *