‘मानव अधिकार आयोगले प्रभावकारी काम गर्न सकेन’
विराटनगर। राष्ट्रिय मानव अधिकार आयोगले प्रभावकारी काम गर्न नसकेको सरोकारवालाले बताएका छन्। आयोगको कोशी प्रदेश कार्यालय विराटनगरले सोमबार गरेको मानव अधिकारको अवस्था विषयक अन्तरक्रियाका सहभागीले यस्तो बताएका हुन्।
पीडितलाई समयमै न्याय दिने हिसाबमा आयोगले काम नगरेको उनीहरुको भनाइ छ। अन्तरक्रियामा आयोगका अध्यक्ष तपबहादुर मगर, सचिव मुरारीप्रसाद खरेललगायत सहभागी थिए।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कोशी प्रदेश संयोजक मनोहर पोखरेलले आयोगले सबैलाई समेटेर काम गर्नुपर्नेमा पछिल्लो समय आयोग एक्लै हिँड्न खोजेको भान हुने बताए।
‘नागरिकले पाउनुपर्ने न्यूनतम हक पनि पाएनन्। महिला र बालबालिकाहरु संविधानप्रदत्त अधिकारबाट बञ्चित छन्। महिलाहरु दाइजो र बोक्सी आरोपबाट प्रताडित हुनु परिरहेको छ’ उनले भने, ‘अधिकार कागजमा मात्रै सीमित छ। प्रयोग गर्न पाउने अवस्था बनेको छैन।’
अभिवक्ता विशाल दाहालले राज्यबाट मानव अधिकारको उल्लंघन धेरै भइरहेको बताए। सिबिन नेपालका संयोजक बासु अधिकारीले बालबालिकामाथि बीभत्स अपराध बढेको उल्लेख गरे।
सामथ्र्य समाज विराटनगरका अध्यक्ष चेतनाथ पोखरेलले निजी स्कुलदेखि सरकारी संरचना अपांगतामैत्री नभएको गुनासो गरे। सरकारी संरचनादेखि विभिन्न सार्वजनिक निकाय अपांगतामैत्री नहुँदा अपांगता भएकाहरुले धेरै समस्या झेल्नु परिरहेको उनले बताए।
जिल पहिचान सञ्जालकी झापा–मोरङ संयोजक सीता शेर्पा राईले होटलमा काम गर्ने महिलाहरु धेरै हिसाबले पीडित भइरहेको सुनाइन्। ‘होटलमा काम गर्ने महिलालाई नियुक्ति पत्र दिइँदैन। उनीहरुसँग परिचयपत्र हुँदैन। सातामा बिदा पनि दिँदैनन्’ उनले भनिन्, ‘अनेक खालका हिंसा सहनुपर्छ। ज्यानको सुरक्षा छैन।’
उनले होटललगायत विभिन्न क्षेत्रमा काम गर्ने महिलाको मानव अधिकारको रक्षाका लागि आयोगले अग्रसरता लिनुपर्ने बताइन्। कार्यक्रमका सहभागीहरुले नागरिकता नहुँदा एकल महिला सामाजिक सुरक्षा भत्ताबाट समेत बञ्चित हुनु परिरहेको बताए।
आयोगका सहसचिव एवं कोशी प्रदेश कार्यालय विराटनगरका प्रमुख वीरबहादुर बुढामगरले मानव अधिकार आयोगले आफ्नो ढंगबाट काम गरिरहेको बताए। ‘सबैले चाहेजस्तो चाँडो परिणाम आएन होला,’ उनले भने, ‘तर, आयोगले काम गरिरहेको छ।’
आयोगको विराटनगर कार्यालयले यो वर्ष ३३ वटा घटनाको अनुसन्धान गरेको बुढामगरले बताए। तीमध्ये १३ वटा टुंगोमा पुगिसकेको र २० वटा बाँकी रहेको उनको भनाइ छ। ७७ वटा उजुरी केन्द्रीय कार्यालयमा पठाइएको बुढामगरले जानकारी दिए।
आयोगका सचिव मुरारीप्रसाद खरेलले आयोग त्यत्तिकै नबसेको र कुनै न कुनै हिसाबले काम गरिरहेको बताए। आयोग संवैधानिक निकाय भएकाले यसका अनेक बाध्यता र चुनौतीहरु रहेको भन्दै उनले सबैको अपेक्षा हुनु स्वाभाविक भएको बताए।
आयोगका अध्यक्ष तपबहादुरले मगर आयोगले सबैसँग सहकार्य गर्ने बताए। सबै पक्षसँग सहकार्य गरेर मानव अधिकारको रक्षा, संरक्षण र प्रवर्द्धन गर्नुपर्छ भन्नेमा आयोग सचेत रहेको उनको भनाइ छ।
