नेहा र विवशलाई ‘मोडल हन्ट’ उपाधि
काठमाडौं। ‘जोय मोडल हन्ट नेपाल’ सिजन ९ को उपाधि विवश विष्ट र नेहा बुढाले जितेका छन्। उनीहरूले कम्बोडियोमा हुने ‘मिस्टर एण्ड मिस सेलेब्रिटी इन्टरनेसनल २०२५’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने छन्।
काठमाडौंमा आयोजित नवौं संस्करणको प्रतियोगितामा ३३ युवती र १७ युवाले आफ्नो प्रस्तुति दिएका थिए। प्रतियोगितामा फेसन, स्टाइल, ग्ल्यामर प्रदर्शनको अवसर दिइएको थियो।
प्रतियोगितामा आदित्य थपलिया र मोना केसी फस्ट रनरअअप, एलेन डंगोल र चाँदनी श्रेष्ठ सेकेन्ड रनरअप चुनिए। उत्कृष्ट ५ मा पुरुषतर्फ मनिष गौतम र प्रसुन कुमार तथा महिलातर्फ पूजा सिंह राजपूत र रानी खड्का पुगेका थिए।
स्मृति लम्साल, सिला र कासाजस्ता ब्राण्डका नेपाली डिजाइन तथा ब्ल्याकबेरिज र क्यान्टाविलजस्ता अन्तर्राष्ट्रिय ब्राण्डका डिजाइन पहिरिएर सहभागीले प्रस्तुति दिएका थिए।
प्रतियोगितामा आवरण मस्ट स्टाइलिस अवार्ड मनिष गौतम र जेनिता सेन्चुरीले प्राप्त गरे। केएफसी बेस्ट पर्सनालिटी विधामा सुजल श्रेष्ठ र अनिमा भण्डारी उत्कृष्ट ठहरिए।
प्रतियोगिताको फिनालेमा पूर्वमिस नेपालद्वय माल्भिका सुब्बा र नम्रता श्रेष्ठ, मिस्टर नेपाल २०२४का विजेता सन्तोष लोक्सम लिम्बु, जोय कस्मेटिक्सका नेपाल प्रमुख मदन रौनियार, फेसन कोरियोग्राफर मनिष राई, सुपरमोडल एवं फेसन कोरियोग्राफर आस्था पोखरेल निर्णायक थिए।
प्रतियोगिताको आयोजना नेक्स्ट मोडल्स नेपालले गरेको हो। यसमा निर्देशन रवि धमला र यतना पाण्डेले गरेका थिए।
