कविताभित्रका कविता
एउटा पसाङ्गिएको खाँबो !
ध्वाँसोको रङले लतपतिएर
युगलाई ठड्याइरहने मूल खाँबो
आफैं चोकेको टेवामा उभिएको छ
आफ्नै बोझले निरवलम्ब थिचिएर
ऊ लाथ्रोझैं पसाङ्गिएको छ
भ्रमको बोझिलो पहाड बोकेर।
***
टाकुराको भ्रम !
बेरङ आकास निलो देखिन्छ
बेरङ पानी पनि निलै देखिएको छ दहमा
एउटा शून्यतामा, अर्काे पूर्णतामा
अर्काे समानता पनि छ– दूरी अर्थात् लम्बाईको
दुबै टाढा र नजिक एकै साथ छन्
टाकुराको सन्धि सिमानाले जोडिएर।
***
निगाहाको रजगज !
पेरूङ्गो च्यापेर दरबार छिर्दै गर्दा
मनले जिउसँग साउती मार्छ।
ऊ हेर त सिंहासनको रजगज !
थरथरी काँप्छन् हातहरु ब्यालेट पेपर सम्झिएर
लुलिन्छन् गोडाहरु इतिहासका उकालोहरूमा
र, बल्ड्याङ्ग पल्टिन्छ भरोसा एकैचोटि
क्रान्तिका ढुङ्गाहरुमा ठेस लागेर
निगाहको दोकानकै ठिक अघिल्तिर।
***
छिद्रान्वेषणको कथा !
आहालमा लडेर गिज्याउँदै आपसमा
तुष्टिको आनन्द लिन्छन् बडाहरु अचेल
छ्यापाछ्याप गरेर दुर्वाच्यहरु
जुम्रा खोजिरहन्छन् एक अर्काको जिउभरि
हिलोलाई अत्तर सम्झिएर
झन् भासिरहेछन् समयको खाल्डोभित्र
कथाशेषका पात्रहरु भएर।
***
आधा भत्किएको पर्खाल !
कसैको इमान बचाउन होस्
या कसैको बेइमानी लुकाउनका लागि
सदियौंदेखि उभिइरहेको छ आँगनको अघिल्तिर
आधा भत्किएर, आधा ठडिएर
वर्षैपिच्छे थपिएका टेकाहरूमा
जीवन लम्ब्याउँदै लम्ब्याउँदै
मृत्युलाई कुरिरहेको छ एउटा पर्खाल।
