मोटरसाइकल र स्कुटर ठोक्किँदा १ जनाको मृत्यु
विराटनगर। विराटनगर महानगरपालिका–१० सोमबारे चोकमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।
दुर्घटनामा स्कुटर चालक मोरङको जहदा गाउँपालिकाकी ४० वर्षीया फुदो राजवंशीको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए।
कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट करिब ३० मिटर दक्षिणतर्फ राजमार्गमा आज शनिबार अपराह्न दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रानीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४८ प ७०७० नम्बरको मोटरसाइकलले पूर्वतर्फ बाटो पार गर्दै गरेको प्रदेश १–०२–०४६ प २३१३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक मोरङको बूढीगंगा गाउँपालिका–४ का १९ वर्षीय मोहमद सहिल मियाँ र पछाडि बसेका १७ वर्षीय मोहमद जाहिर घाइते भएका छन्। मोटरसाइकल चालकको अवस्था गम्भीर छ।
दुवैको कोशी अस्पतालमा उपचार भइरहेको इन्स्पेक्टर लम्सालले बताए। दुर्घटनामा परेर दुवै सवारीसाधन पूर्णरूपले क्षतिग्रस्त बनेका छन्।
