टल्किने बहुमूल्य ढुंगा दिने भन्दै लाखौं ठगी
खरा। टल्किने बहुमूल्य ढुंगा दिने भन्दै लाखौं रूपैयाँ ठगी गरेको आरोपमा पोखराबाट तीनजना पक्राउ परेका छन्। पाँच करोड मूल्यको टल्किने ढुंगा दिन्छु भनेर १३ लाख रुपैयाँ ठगी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन्।
पर्वत फलेबास नगरपालिका–५ घर भई पोखरा–१७ छोरेपाटन बस्ने ३१ वर्षकी इन्दिरा विक, सोही ठाउँका ३६ वर्षीय राजन विक र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ की २७ वर्षीया जुनु भनिने लक्ष्मी राईलाई प्रहरीले पक्राउ गरेको हो।
पोखराको लेकसाइडबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाशदीप जिसीले जानकारी दिए।

प्रहरीले इन्दिरा र राजनको कोठाबाट सेतो रंगको पारदर्शी ढुङ्गा ६ थान र रातो रङको ढुङ्गा १ थान बरामद गरेको छ। विभिन्न बैंकका ३१ लाख बराबरका चार थान चेक र मोबाइल चार वटा समेत बरामद गरेको छ।
प्रहरी निरीक्षक जिसीका अनुसार आफूलाई पाँच करोड मूल्य पर्ने टल्किने ढुंगा दिने लोभ देखाएर १३ लाख रुपैयाँ ठगी गरेको भन्दै कुन्ती सुब्बा गुरुङले जाहेरी दिएकी थिइन्।
पक्राउ परेका तीनै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।
