होटलमा बसेका युवकको मृत्यु, प्रेमिकासहित २ जना प्रहरीको नियन्त्रणमा

झापा। बिर्तामोड नगरपालिका–४ स्थित एउटा होटलमा बसेका झापाको हल्दिबारी गाउँपालिका–१ गोलधापका ३० वर्षीय सागर बेस्रा मृत अवस्थामा फेला परेका छन्।

घटनापछि प्रहरीले उनीसँगै बसेकी उनकी प्रेमिका र होटल सञ्चालक महिलालाई नियन्त्रणमा लिएको छ। झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार बेस्रा एभरेष्ट होटलमा आफ्नी प्रेमिका सुनसरीको धरान–१५ घर भइ झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा बस्दै आएकी २३ वर्षीया मुना विकसँग बसेका थिए।

होटलको कोठाभित्र बाथरुमको ढोका छेउमा लडेर बेहोस भएको भन्दै उनलाई प्रेमिका मुना र होटल सञ्चालक बिर्तामोड–५ की ४८ वर्षीया यामकुमारी उप्रेतीले उपचारका लागि बिर्तासीटी अस्पताल लगेका थिए।

चिकित्सकले शुक्रबार बिहान बेस्रालाई मृत घोषणा गरेको डीएसपी चन्दले बताए। मृत्युको कारण खुल्न सकेको छैन

उनकी प्रेमिका र होटल सञ्चालक महिलालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *