चिया निर्यातमा देखिएको समस्या हटाउन पहल गर्छु : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्या समाधानमा सक्दो पहल गर्ने बताएका छन्। निकासी समस्या समाधान, चिया उद्योगको प्रवर्द्धन र प्रोत्साहन गर्न पहल गर्ने उनले प्रतिबद्धता जनाएका हुन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र इलामका चिया उत्पादक सङ्घका प्रतिनिधिले दिएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले यस्तो प्रतिबद्धता जनाए।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले औपचारिक र अनौचारिक दुवै संयन्त्रबाट समस्याको समाधानमा पहल गर्ने बताए। नेपाली चियाको उचित बजार प्रवर्द्धन र विस्तारमा ध्यान दिन उनले उद्यमीलाई सुझाव दिए।
प्रादेशिक चिया समन्वय समितिका अध्यक्ष आदित्य पराजुलीले चिया निर्यातबाट वार्षिक ६ अर्ब रुपैयाँको विदेशी मुद्रा भित्रिँदै आएकामा हाल भारत सरकारबाट नेपाली चियालाई अनिवार्य भारतीय अक्सन (लिलामी प्रक्रिया) मार्फत मात्र आयात गर्ने नीतिगत व्यवस्था हुन लागेकाले यसबाट नेपाली उद्यगीलाई मार पर्ने भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए।
ती संस्थाहरूले नेपालमै अक्सन (लिलामी प्रक्रिया) केन्द्र सञ्चालन, नेपाली चियालाई दिइने निर्यात अनुदान तत्काल उपलब्ध गराउन र चिया बगान क्षेत्रमा सहज विद्युत आपूर्ति एवं महशुलको प्रबन्ध गरिनुपर्नेलगायत माग प्रधानमन्त्रीसमक्ष राखेका छन्।
