‘दर्ता नगरे नेपालमा फेसबुक चलाउन दिन्नौं’

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक लगायत सामाजिक सञ्जाल नेपालमा दर्ता नगरे चल्न नदिने बताएका छन्।

अहिले नेपालमा दर्ता भएर सञ्चालनमा रहेको सामाजिक सञ्जाल ‘टिकटक’ मात्रै भएको उल्लेख गर्दै उनले मेटा (फेसबुक), इन्स्टाग्राम, ह्वाट्सएप लगायत अन्य सामाजिक सञ्जाललाई पनि दर्ताका लागि सार्वजनिक आह्वान गरिएको बताए।

मन्त्री गुरुङले भने, ‘मेटा, फेसबुक, इन्स्टाग्राम केके छन्, ती प्रयोग गर्दा हामीलाई के सहयोग पुग्न सक्छ? स्वास्थ्यमा सहयोग गर, हाम्रो इन्डस्ट्रीमा सहयोग गर। गुड गभर्नेन्सलाई काम गर्न सहयोग गर भन्ने हो। त्यो नगरिकन उनीहरूलाई चलाउन दिँदैनौँ।’

कुनै पनि सामाजिक सञ्जाल नेपालमा दर्ता नभएको खण्डमा प्रतिबन्ध लगाइने उनको भनाइ छ ।

नेपाल टेलिकमको वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको पनि बताए।

सामाजिक सञ्जाल अराजक बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने आम नागरिकहरूकै मागका कारण विधेयक ल्याइएको उनको भनाइ छ।

सामाजिक सद्भाव भत्काउने, विद्वेष फैल्याउने, धार्मिक सहिष्णुता भत्काउने कुरा देशद्रोह भएकाले त्यस्तो गर्नेलाई विधेयकमा दण्ड सजायको प्रावधान राखिएको उनले बताए।

सञ्चारमन्त्री गुरुङले देशमा साइबर क्राइमका घटनाहरु बढिरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न साइबर क्राइम नियन्त्रण गर्ने ऐनको मस्यौदा तयार गरिरहेको पनि बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *