त्रिदेशीय टी-२० मा नेपालको चौथो हार

काठमाडौं। त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार चौथो हार बेहोरेको छ। आज मंगलबार भएको खेलमा थाइल्याण्डसँग ५ रनले नेपाल पराजित भएको हो।

थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय १ रनमात्र बनाउन सक्यो। नेपालका शीर्ष क्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

रुबिना क्षेत्रीले २६, कविता जोशीले २४, रोमा थापाले नटआउट १९, पूजा महतोले १८ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। थाइल्याण्डकी थिपाचा पुथावोङ्गले ४ विकेट लिइन्।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रन बनायो। थाइल्याण्डका चानिदा सुथिरुआङ्गले २७, थिपाचा पुथावोङ्गले २५ रन बनाए।

थाइल्याण्डले ५६ रनमा ६ विकेट गुमाएको अवस्थामा सातौं विकेटका लागि चानिदा र थिपाचाले नटआउट ५० रनको साझेदारी गरे। नेपालकी मनिषा उपाध्यायले ३ विकेट लिइन्।

नेपालले यसअघि नेदरल्याण्ड्ससँग २ पटक र थाइल्यान्डसँग १ पटक पराजित भएको थियो। थाइल्यान्ड ४ वटै खेल जित्दै ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ। नेदरल्याण्ड्स ४ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ।

नेपाल अङ्कविहीन हुँदै पुछारमा छ। प्रतियोगितामा भोलि नेपाल र नेदरल्याण्ड्स खेल्दैछन्। लिग चरणमा शीर्ष रहने टोलीले उपाधि जित्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *