सनम हत्या र ३८ क्वीन्टल सुन तस्करी मुद्दामा थप ८ जनालाई सफाइ

विराटनगर। मोरङको उर्लाबारीका सनम शाक्य हत्या एवं करिब ३८ क्वीन्टल सुन तस्करीसँग जोडिएको मुद्दामा थप ८ जनाले सफाइ पाएका छन्। एक जना दोषी ठहर भएका छन्।

जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले गत पुस २३ गते मुद्दाको फैसला गरेको हो। मुद्दाका प्रतिवादीमध्ये कालु, काले भनिने कृष्णगोपाल अग्रवाल, एमके मामा भनिने मोहनकुमार अग्रवाल, बाले भनिने सुनीलकुमार अग्रवाल, रमेश उप्रेती, प्रयास पराजुली, सन्दीप खड्का, अर्जुनप्रसाद पोखरेल, आरबी भनिने रक्षा भण्डारीले सफाइ पाएका हुन्।

जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार ८ जनाले भन्सार ऐन र संगठित अपराध निवारण ऐनको दाबीबाट सफाइ पाएका हुन्। यो दाबीबाट उनीहरुसहित भविन राई भनिने भविन तामाङले पनि सफाइ पाएको जानकारी बुढाथोकीले दिए। भविनलाई कर्तव्य ज्यान मुद्दामा भने अदालतले दोषी ठहर गरेको छ।

भन्सार ऐन र संगठित अपराध निवारण ऐनको दाबीबाट सफाइ पाएका उनलाई कर्तव्य ज्यान मुद्दामा ३ वर्ष कैद सजाय हुने फैसला भएको बुढाथोकीले बताए।

मुद्दाको फैसला हुनुअघि नै पुर्पक्षका लागि थुनामा पठाइएका भविन सजाय भुक्तान गरेर यही माघ ४ गते छुटिसकेका छन्।
मूल र पूरक अभियोग गरेर मुद्दामा ७७ जनालाई प्रतिवादी बनाइएको थियो।

यो मुद्दामा ७७ जनामध्ये पक्राउ परेका र अदालतमा आफैं हाजिर भएका ५६ जनाको हकमा २०७८ सालमै मुद्दाको फैसला भइसकेको छ। बाँकी फरार रहेका २१ जनाको मुद्दालाई अदालतले मुलतबीमा राखेको थियो।

फरार रहेकाहरु विभिन्न समयमा अदालतमा हाजिर भएपछि मुलतबी जगाएर मुद्दाको फैसला भएको जानकारी सूचना अधिकारी बुढाथोकीले दिए। उनका अनुसार हालसम्म मुद्दाका अभियुक्त १२ जना अझै फरार छन्। फरार रहेकाको मुद्दा मुतलबीमै रहने र उपस्थित भएपछि फैसलातर्फ अघि बढ्ने उनको भनाइ छ।

बुढाथोकीका अनुसार अब मुद्दामा पूर्णरूपले सफाइ पाउनेको संख्या ५६ पुगेको छ। यसअघि २०७८ असोज १९ गते पहिलोपटक मुद्दाको फैसला गर्दै जिल्ला अदालत मोरङका तत्कालीन न्यायाधीश भरत लम्सालको इजलासले ८ जनालाई दोषी ठहर गरेको र ४८ जनालाई सफाइ दिएको थियो।

दोषी ठहर भएकाहरुको सजाय निर्धारण भने २०७८ कात्तिक ८ गते गरिएको थियो। त्यतिबेला दोषी ठहर भएकामध्ये ६ जनालाई जन्मकैदको फैसला भएको थियो।

सुन तस्करी एवं सनम हत्याका मुख्य अभियुक्त गोरे भनिने मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाइएको थियो।

अपहरण तथा शरीर बन्धक मुद्दामा गोरेको कसुर कायम हुँदा अरुले सफाइ पाएका थिए। मुद्दाको फैसला पहिलोपटक हुँदा प्रतिवादीमध्ये भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजाय सुनाइएको थियो।

मुद्दामा दोषी ठहर भएकामध्ये लाक्पा शेर्पा, भारतीय नागरिक राजन कुमार र मदनप्रसाद घिमिरेबाहेक अरुले जिल्ला अदालतको फैसला चित्त नबुझेको भनेर उच्च अदालत विराटनगरमा पुनरावेदन गरिसकेका छन्।

सरकारी वकिल कार्यालयले पनि सफाइ पाएका अन्यको हकमा जिल्लाको फैसला चित्त नबुझेको भन्दै उच्च अदालतमा पुनरावेदन गरेको छ। दुवै पक्षले गरेको पुनरावेदन उच्च अदालत विराटनगरमा हालसम्म विचाराधीन छ।

तस्करी गरेर दुबईबाट २०७४ माघ ९ गते काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब बनाएको आरोपमा गोरेको समूहले सनमको हत्या गरेको हो।

२०७४ फागुन १८ गते करेन्ट लगाएर यातना दिँदै मोरङको उर्लाबारी नगरपालिका–१ मा सनमको हत्या गरिएको भिडियो पनि सार्वजनिक भएको थियो। गायब बनाएको सुन निकाल्न दबाब दिँदै गोरेले बारम्बार सनमलाई करेन्ट लगाइरहेको भिडियोमा देख्न सकिन्थ्यो। दोषी ठहर भएकामध्ये ठकुरी, काफ्ले र कार्की सनमको शव २०७४ फागुन १९ गते विराटनगरबाट बरामद हुँदा पक्राउ परेका अभियुक्त हुन्।

सनमको हत्यामा उनीहरु प्रत्यक्ष जोडिएका थिए। तीनै जना गोरेका सहयोगी एवं सवारी चालक हुन्। शेर्पा सनमको हत्यामा प्रत्यक्ष जोडिए पनि त्यतिबेला पक्राउ परेका थिएनन्। हत्या गरेपछि सनमको शव धरानस्थित निर्वाणा कन्ट्री क्लबमा लगेर एक रात राखिएको थियो। सनमको शव राखिएको बा १२ च ५९६३ नम्बरको स्कोरपिओ र मे १ च ५३९८ नम्बरको कार पनि प्रहरीले विराटनगरको वन कार्यालय नजिकबाट नियन्त्रणमा लिएको थियो।

राजन कुमार पनि गोरेका सवारी चालक हुन्। हराएको सुन खोज्ने क्रममा उनैले चलाएको गाडीमा बसेर गोरे काठमाडौंबाट उर्लाबारीसम्म आएको अनुसन्धानबाट खुलेको थियो।

घिमिरे सनमको हत्या हुनुभन्दा अघि घटनास्थल पुगेको खुल्यो। हत्यामा उनको प्रत्यक्ष संलग्नता भने देखिएन। गोरेको गिरोहले घिमिरेकै घरमा अड्डा जमाएर हराएको सुन खोज्नेदेखि लिएर अरु गतिविधि सञ्चालन गर्ने गरेको पत्ता लाग्यो।

भण्डारी सनमको हत्या हुँदा घटनास्थलमै उपस्थित रहेको अनुसन्धानबाट खुलेको छ। मुद्दा दर्ता भएका बेला फरार रहेका उनी मुद्दाको फैसला हुनुभन्दा ६ महिनाअघि मात्रै अदालतमा हाजिर भएका थिए। फैसलाअघि अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। दोषी ठहर भएकाहरुको हत्यामा कुनै न कुनै हिसाबले संलग्नता पुष्टि भएको थियो।

सुन तस्करका भरिया रहेका सनमको हत्या भएको घटनाको अनुसन्धान थाल्दा गोरेको योजना र ‘सेटिङ’ तथा अरु व्यापारीको लगानी एवं प्रहरी अधिकारीको सहयोगमा सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा दुबईदेखि नेपालमा लगभग ३८ क्वीन्टल सुन तस्करी भएको पत्ता लागेको थियो।

यस प्रकरणमा पूर्वदेखि बहालवाला प्रहरी अधिकारी र धनाढ्य व्यापारीसमेत मुछिए। हराएको भनिएको तस्करीको सुन भने हालसम्म फेला परेको छैन।घटनापछि फरार बनेका गोरेलाई काठमाडौंबाट पक्राउ गरेर २०७५ जेठ ९ गते मोरङ अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेशबाट कारागार चलान भएका उनी पछि मुद्दा फैसला हुँदा दोषी ठहर भएका हुन्।

सरकारी वकिल कार्यालय मोरङले ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरी चारवटा शीर्षकमा ६३ जनालाई प्रतिवादी बनाउँदै २०७५ वैशाख १९ गते पहिलोपटक जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो। त्यसपछि अन्य अभियुक्तविरुद्ध पूरक अभियोग दर्ता गरिएको थियो।

अभियोग पत्रमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरियो। त्यही बराबरको बिगो मागदाबीसहितको मुद्दा दर्ता गरिएको थियो।

हेमबहादुर बुढाथोकी, सूचना अधिकारी जिल्ला अदालत मोरङ

मुलुककै ध्यान केन्द्रित गरेको यस घटनाको छानबिनका लागि सरकारले गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा समिति गठन गरेको थियो। समितिले गरेको छानबिन र प्रहरीको अनुसन्धानबाट गोरे मुख्य नाइके रहेर सुन तस्करी भइरहेको पत्ता लाग्यो। तस्करले सुन नेपाल भित्राउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो प्रयोग गरेका थिए।

उच्च प्रहरी अधिकारीले तस्करसँग मिलमतो गरेर जहाजमार्फत हुने तस्करीका लागि बाटो फराकिलो बनाइदिएको दाबी सरकार पक्षको थियो। तर, प्रमाणका रूपमा पेस गर्नुपर्ने तस्करीको सुन बरामद गर्न नसक्दा अधिकांश अभियुक्तले सफाइ पाए।

दुबईबाट नेपालको बाटो हुँदै ल्याएपछि सुन भारततिर पुर्याइएको दाबीसहितको मुद्दा दर्ता भएको थियो। मुद्दाको फैसला हुँदा संगठित अपराध, भन्सार ऐन र अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दामा अभियुक्तमध्ये उच्च प्रहरी अधिकारीलगायत अधिकांशले सफाइ पाए।

२०७८ सालमा मुद्दा फैसला हुँदा नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, डीएसपीहरु सञ्जयबहादुर राउत, प्रजित केसी, सइ बालकृष्ण सञ्जेल, हवल्दार अम्बरबहादुर थापामगर, विष्णुबहादुर खड्कासमेतले सफाइ पाएका थिए।

मुद्दामा प्रतिवादी बनाइएकी गोरेकी पत्नी नीरु भनिने नर्बदा खरेलसहित तस्करीको सुनको लगानीकर्ता भनिएका भुजुङ गुरुङ, डेबिट छिरिङ वाङ्गेल घले, हरिशरण खड्का, बेनु श्रेष्ठलगायतले सफाइ पाएका थिए।

बेनु र गोरेकै योजनामा सुन तस्करी हुँदै आएको खुलेको थियो। सनमको हत्यामा खड्काको अप्रत्यक्ष संलग्नताको दाबी गरिएको थियो।

यसैगरी, चेतन भनिने चेतनाथ भण्डारी, रामकुमार तिवारी, सुनील श्रेष्ठ, गीता श्रेष्ठ, आरके भनिने राजेन्द्रकुमार शाक्य, शैयद अकबर साह, मदन सिलवाल, तक्लु भनिने पुण्यप्रसाद लामा, एलबी भनिने लालबहादुर मगर, बाला दाइ भनिने बालकृष्ण खड्का, मोतीराम श्रेष्ठ प्रमोदकुमार श्रेष्ठ, चाचाजी भनिने महावीरप्रसाद गोल्यानसमेतले सफाइ पाएका थिए।

तस्करीको सुन खरिदबिक्री गर्नेदेखि लिएर भारतसम्म आपूर्ति गर्ने धन्दामा उनीहरुको संलग्नता रहेको दाबी गरिएको थियो। त्यस्तै, विनोद अधिकारी, प्रभातकुमार अग्रवाल, विमल पोद्दार, आरडी राजु भनिने राजकुमार दारुका र डब्लु भनिने इम्तियाज उद्दिम, दुबईका ट्राभल्स एजेन्सी सञ्चालक ठाकुरप्रसाद ढुंगाना र रोशन भनिने गुप्तलाल भुसालले सफाइ पाए।

सफाइ पाउनेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कपिलराज पुरी, बालकृष्ण श्रेष्ठ, गोपालकुमार श्रेष्ठ, अम्मरमान डंगोल, राजन थापा, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ र राजु महर्जन थिए। सम्बीरप्रसाद तोलांगे, हेमन्त गौतम, तुलाराम थारुसमेत सफाइ पाउनेमा परेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *