बिरामीलाई ठगी गरेको आरोपमा नोबेल अस्पतालबाट १० जना पक्राउ

विराटनगर । बिरामीलाई ठगी गरेको आरोपमा विराटनगरको नोबेल शिक्षण अस्पताल परिसरबाट १० जनालाई प्रहरीले आइतबार अपराह्न पक्राउ गरेको छ। पक्राउ पर्नेहरु अस्पतालको बाहिर सञ्चालनमा रहेका औषधि पसलका सञ्चालक र कामदार हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङ र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१८ का २७ वर्षीय राजुकुमार कामत, विराटनगर–७ का २४ वर्षीय नितेश राजवंशी, विराटनगर–६ का २३ वर्षीय सुरज राजवंशी, विराटनगर–५ का २७ वर्षीय अमर साह तथा सुनसरीको बर्जु गाउँपालिका–७ का २९ वर्षीय दीपेन्द्र गुप्ता छन्।

यसैगरी, बर्जु–६ का २५ वर्षीय वीरेन रौनियार, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का २८ वर्षीय श्यामनारायण मण्डल, भारदहका २१ वर्षीय कमल पाठक, २१ वर्षीय दीपक मण्डल र सिरहाको विष्णुपुर गाउँपालिका–२ का २५ वर्षीय नगेन्द्रप्रसाद यादव पनि पक्राउ परेका छन्।

अस्पताल बाहिर फार्मेसी चलाएर अस्पताल आउने बिरामी र उनीहरुका आफन्तलाई ठगी गर्ने गरेको गुनासोका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

उपचारमा सहयोग गर्ने नाममा दलालीको काम गर्ने गरेको सूचना आएपछि पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *