आफ्ना सिर्जना सुनाउन स्रष्टाहरू एक ठाउँ
विराटनगर। साहित्यिक गतिविधिलाई निरन्तरता दिने क्रममा विराटनगरमा शनिबार स्रष्टाहरू भेला भएर आफ्ना रचना प्रस्तुत गरेका छन्। नोबेल साकोस साहित्य संस्था विराटनगर शाखाको आयोजनामा कार्यक्रम भएको हो। संस्थाले मासिक रुपमा नियमित रचना वाचन कार्यक्रम गर्दै आएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा अग्रज साहित्यकार मोरङको सुन्दरहरैँचाका डा. छवि वैरागी घिमिरे सहभागी थिए। उनी मानार्थ विद्यावारिधि प्राप्त नोबेल साकोस साहित्य संस्था काठमाडौंका सल्लाहकार हुन्।
त्यस अवसरमा साहित्यकारहरू ऋषि तिवारी, भूपाल अधिकारी, सुजा चापागाईं, प्रयाग न्यौपाने, रोहिणी रसिक, नवशिला नवराज, लक्ष्मी स्मृति, चुणामणि घिमिरे, राधा भट्टराई, लक्ष्मी रायामाझी, लक्ष्मी पोखरेल, भवानीप्रसाद पोखरेल, गोपाल निर्भीक, चिरञ्जीवी काफ्ले, नानुमैया दाहाल लगायत ३० जनाभन्दा बढी स्रष्टाले आफ्ना रचना सुनाएका थिए।

कार्यक्रममा मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, चारु प्रतिष्ठानका अध्यक्ष डा.देवी पन्थी, झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाई बर्बरिक, साहित्यकार हरिप्रसाद बराललगायत सहभागी थिए।
त्यस अवसरमा मोरङको बेलबारीका स्रष्टा नवराज पोखरेल नवशिलालाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो।
संस्थाका अध्यक्ष मञ्जु घिमिरे दाहालको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका सदस्य भुपाल अधिकारीले सहभागीको स्वागत गरेका थिए। संस्थाकी सचिव सुजाता राईले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

