नेपाल-भारत रंग महोत्सवमा ६ वटा नाटक
नाटक ‘कथा कस्तुरी’ मा कलाकार । फाइल तस्बिर
काठमाडौं। माघ २३ देखि ३० गतेसम्म काठमाडौंमा नेपाल–भारत रंग महोत्सव आयोजना हुने भएको छ। सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै यो जानकारी दिएको हो।
प्रतिष्ठानकी कुलपति निशा शर्माका अनुसार भारतको प्रसिद्ध राष्ट्रिय नाट्य विद्यालयसँग सहकार्यमा राष्ट्रिय नाचघरमा महोत्सव हुन लागेको हो। महोत्सवमा नेपाल र भारतका ६ वटा नाटक मञ्चन हुने छन्।
नेपालका तीन र भारतका तीन नाटक मञ्चन हुने कुलपति शर्माले जानकारी दिइन्। यस्तो महोत्सव भारतमा लामो समयदेखि हुँदै आएको छ। भारत र नेपालको सहकार्यमा पहिलोपटक नेपालमा महोत्सव हुन लागेको हो।
महोत्सवमा माघ २३ गते सिके लालको लेखन र सुनिल पोखरेलको निर्देशन रहेको नाटक ‘गच्छामी’ प्रदर्शन हुनेछ। माघ २४ गते नयनराज पाण्डेको लेखन र दिया मास्केको निर्देशन रहेको नाटक ‘कथा कस्तुरी’ तथा माघ २७ गते संयोजक गुरागाईँको लेखन तथा नम्रता केसीको निर्देशन रहेको नाटक ‘जुन परिकथा मात्र होइन’ प्रदर्शन हुनेछ।

यस्तै, माघ २८ गते विजयदन देथाको लेखन तथा अजयकुमारको निर्देशन रहेको भारतीय नाटक ‘माई री मैं का से कहूँ’, माघ २९ गते मिथिलेश्वरको लेखन तथा राजेश सिंहको निर्देशन रहेको भारतीय नाटक ‘बाबुजी’ र माघ ३० गते अजय शुक्लको लेखन र चितरञ्जन त्रिपाठीको निर्देशन रहेको भारतीय नाटक ‘ताजमहलका टेन्डर’ प्रदर्शन हुने जनाइएको छ।
पत्रकार सम्मेलनमा कुलपति शर्माले भनिन्, ‘महोत्सवमा सहभागी हुने नेपाल र भारतका चर्चित नाटकका माध्यमबाट प्रस्तुतिमात्र होइन, एक अर्काका परम्परा, मूल्य, मान्यता, संस्कृति र कथाहरुको साझा सम्वाद हुनुका साथै छिमेकी मुलुकसँगको सम्बन्धलाई अझ बलियो बनाउनेछ भन्ने विश्वास छ।’
प्रतिष्ठानका उपकुलपति शम्भु राईले नेपाललाई ऐतिहासिक अवसर प्राप्त भएकाले महोत्सवमा सहभागी हुन सबैसँग अनुरोध गरेका छन्।
संयुक्त रुपमा महोत्सव आयोजना गरेर नाटक मञ्चन हुनु दुवै देशका लागि गौरवको विषय भएको प्रतिष्ठानकी सदस्यसचिव कुश्मा महरा ‘प्रगति’ले बताइन्।

