तीन साहित्यिक पुरस्कार स्थापना
विराटनगर। साहित्य क्षेत्रमा प्रदान गर्ने गरी विराटनगरमा तीन वटा राष्ट्रिय पुरस्कारको स्थापना गरिएको छ। मुक्तक दिवसको अवसरमा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले कार्यक्रम आयोजना गरी पुरस्कार स्थापनाको घोषणा गरेको हो।
आयोजक संस्थाका अध्यक्ष कवि एवं समालोचक बाबुराम पोखरेलका अनुसार अक्षय कोषमा जम्मा गरिएको ब्याज रकमबाट हरेक वर्ष समर्पण गर्ने गरी मनमाया दाहाल तथा उनका छोराछोरीहरूबाट नन्दलाल स्मृति साहित्य पुरस्कार स्थापना गरिएको छ। उक्त पुरस्कारको राशि ११ हजार १११ रुपैयाँ छ।
यस्तै, मनोहरि पोखरेल र बाबुराम पोखरेलबाट माधव–नर्वदा पोखरेल स्मृति साहित्य पुरस्कार स्थापना गरिएको छ। यसको राशि ११ हजार १११ रुपैयाँ छ। यसैगरी, साहित्यकार सीताराम पोखरेलबाट स्थापित नन्दकुमारी पोखरेल स्मृति साहित्य पुरस्कारको राशि १५ हजार रुपैयाँ राखिएको छ।
कार्यक्रममा दाताहरूको तर्फबाट समाजसेवी विश्वकान्त दाहालले अक्षयकोष स्थापनाबारे जानकारी दिएका थिए। उनले समाज विकासमा साहित्यको महत्वपूर्ण भूमिका रहेकोले साहित्य क्षेत्रमा लागेका अग्रजहरूको सम्मान तथा अनुजहरूलाई प्रेरणा र सहयोगको लागि पुरस्कार स्थापना गरिएको बताए।
संस्थापक परिवारकी सदस्य कवि नानुमैया दाहालले साहित्य समाजको अग्रगामी रुपान्तरणको सशक्त हतियार भएकोले नेपाली समाजलाई सकरात्मक मार्गबाट अगाडि बढाउन तथा नेपाली साहित्यको श्रीवृद्धि र विकासमा योगदान पुगोस् भन्ने पवित्र उद्देश्यले पुरस्कारहरू स्थापना गरिएको बताइन्।

कार्यक्रममा प्रमुख अतिथि पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलले पुरस्कारले साहित्य सिर्जनामा उत्प्रेरणा प्राप्त हुने विचार राख्दै संस्थापकहरूप्रति धन्यवाद र आयोजक संस्थालाई शुभकामना व्यक्त गरे।
विशेष अतिथि चेतना प्रतिष्ठान नेपालकी अध्यक्ष प्राज्ञ गङ्गा सुवेदी, प्राज्ञ खेम नेपाली, अग्रज साहित्यकार बलराम पोखरेल, प्रा.डा. हरिहर भण्डारी, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईँ लगायतले दाताहरूप्रति सम्मान व्यक्त गरेका थिए।
कार्यक्रममा अक्षय कोषका संस्थापकहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा भूषण ढुङ्गेल, हरि कट्टेल, गोकुल अधिकारी, प्रयाग न्यौपाने, नानुमैया दाहाल, मञ्जु घिमिरे दाहाल, राधा भट्टराई, नवराज पोखरेल ‘नवशिला’ लगायतका मुक्तककारहरूले मुक्तकहरू वाचन गरेका थिए। आयोजक संस्थाका सदस्य सचिव मदन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा सदस्य रोहिणी रसिकले सहभागीको स्वागत गरेका थिए।
