अरनिकोले जित्यो हिसान क्रिकेटको उपाधि
विराटनगर। उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेल सप्ताहअन्तर्गत बुधबार भएको क्रिकेट खेलमा अरनिको कलेज विजयी भई उपाधि जितेको छ।
वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा २ वर्षपछि हिसान खेलेको ग्रिनल्याण्ड कलेजलाई ५८ रनले पराजित गर्दै अरनिकोले उपाधि चौथो पटक जितेको हो।
टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय १५ रनको योगफल बनायो। अरनिकोका सौरभ झाले २५ रन बनाउँदा नुर अहमदले २० रन, रामनारायण यादवले १६ रन र सोनु साहले १३ रनको योगदान दिए। ग्रिनल्याण्डका गणेश यादव, अमित चौधरी र कुष्ण चौधरीले २–२ विकेट लिए।
जवाफमा १ सय १६ रनको चुनौती पाएको ग्रिनल्याण्डले १९ ओभरमा सवै विकेट गुमाई ५७ रनमा सीमित भयो। ग्रिनल्याण्डका सुशील यादवले सर्वाधिक १२ रनको योगदान दिए।
अरनिकोका प्लेयर अफ फाइनल नुर अहमदले ४ ओभरमा १३ रन दिएर ४ विकेट लिँदा रामनारायण यादव र अमर यादवले २–२ विकेट लिए।
प्रतियोगिताको प्लेयर अफ सिरिज ग्रिनल्याण्डका गौरीशंकर माझी घोषित भए भने उत्कृष्ट ब्याटर मेरिल्याण्डका कृष्ण देव र उत्कृष्ट बलर विकेभिएमका आकाश चौधरी घोषित भए।

