क्यानाडा र अमेरिका पठाउने भन्दै १ करोडभन्दा बढी ठग्नेहरू पक्राउ
काठमाडौं। आकर्षक तलबको लोभ देखाएर रोजगारीका लागि क्यानाडा र अमेरिका पठाइदिने भन्दै १ करोड १२ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ घर भई काठमाडौंको टोखा नगरपालिका–६ बस्ने २५ वर्षीय भुवन कार्की र काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ बस्ने ४२ वर्षीय नितेश पोखरेल पक्राउ परेका हुन्।
भुवनले अमेरिका पठाइदिने भन्दै ३ जनाबाट १ करोड र नितेशले क्यानाडा पठाइदिने भन्दै ४ जनाबाट १२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी तथा अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक एवं सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए।
प्रतिक्रिया
