क्यानाडा पठाइदिने भन्दै ६६ लाख ठगी

विराटनगर। विभिन्न सामाजिक सञ्जालहरु प्रयोग गरी वैदेशिक रोजगारीमा लगिदिने भन्दै ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। पीडितबाट परेको उजुरीपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले ५ जनालाई पक्राउ गरेको हो।

ह्वाट्स एप, टेलिग्राम र भाइबर लगायतका सञ्जालहरुमा विज्ञापन राखेर क्यानाडालगायत मुलुक पठाइदिने भन्दै ठगी गर्ने गरेको पाइएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

विराटनगर महानगरपालिका–११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरीलाई क्यानाडा पठाइदिने भनेर ठगी गरेको पाइएको प्रहरीको भनाइ छ।

विदेशी मोवाइल नम्बरहरुबाट खोलिएको ह्वाट्स एपबाट महेशकुमारलाई सम्पर्क गरी भिसा प्रयोजनका लागि आवश्यक कागजातहरु समेत पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

रोजगारीमा लगाइदिने लोभ देखाएर पटकपटक गरी ६६ लाख ६७ हजार रुपैयाँ बैंक खातामा जम्मा गर्न लगाइएको प्रहरीले जनाएको छ। आफूहरु ठगिएको पीडितले उजुरी गरेपछि प्रहरी टोली परिचालन गरिएको थियो।

भारतको जोगवनीका २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका–३ का २२ वर्षीय रोहितकुमार पासवान, विराटनगर महानगरपालिका–८ का २३ वर्षीय करण भनिने अमीत राय, कटहरी–३ कै ३० वर्षीय बुद्धनारायण मलाह, मोरङको पथरी शनिश्चरे नगरपालिका–५ का २५ वर्षीय बोधराज राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो।

मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *