दिवंगत बुबाआमाको नाममा लिएको ५ लाखभन्दा बढी भत्ता फिर्ता
विराटनगर। आफ्ना दिवंगत बुबाआमाको नाममा एक व्यक्तिले लिइरहेको भत्ताबापत रकम विराटनगर महानगरपालिकाले असुलेको छ।
महानगरले विराटनगर–५ का ५८ वर्षीय केशव ढकालबाट रकम असुल गरेको हो। उनले बुबाआमाको मृत्यु भइसकेको भए पनि उनीहरुको नामको सामाजिक सुरक्षा भत्ता बापतको ज्येष्ठ नागरिक भत्ता बुझिरहेका थिए।
उनका बुबा गोविन्दबहादुर ढकाल र आमा सानुमाया ढकालको मृत्यु भइसकेको थियो। बुबाआमाको संरक्षक बसेर केशवले मृत्यु दर्ता नगरी भत्ता लिइरहेको ‘मुलुकी खबर’ ले समाचार प्रकाशित गरेको थियो।
भत्ताबापत लिएको ५ लाख २१ हजार ४ सय रूपैयाँ उनले फिर्ता गरेको महानगरको कानुन शाखा प्रमुख शारदा थपलियाले जानकारी दिइन्।
कोही कसैको मृत्यु भएमा ३५ दिनभित्र वडा कार्यालयमा मृत्यु दर्ता गराउनुपर्ने व्यवस्था छ । तर, केशवले बुबा र आमाको मृत्यु दर्ता गराएका थिएनन्। जीवितै रहेको भनेर लामो समयदेखि उनले भत्ता बुझिरहेका थिए।
सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि घटना बाहिर आएको थियो। आर्थिक वर्ष २०८१/८२ का लागि बायोमेट्रिक विवरणसहित लाभग्राहीको नवीकरण गर्न राष्ट्रिय परिचय पत्र आवश्यक पर्ने भनेर संरक्षकलाई जानकारी गराउँदा बुबाआमाको मृत्यु भइसकेको भनी शंकास्पद कुरा गरेकाले वडा कार्यालयबाट स्थलगत सरजमिन गरिएको थियो।
त्यस क्रममा केशवका बुबाको करिब ११ वर्ष र आमाको ४ वर्षअघि मृत्यु भइसकेको पत्ता लागेको वडाध्यक्ष सन्तोष न्यौपानेले बताए। उनका अनुसार वडा कार्यालयले केशवलाई कारबाहीका लागि भनेर महानगरको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखामा सिफारिस गरेको थियो।
