टी-२० क्रिकेटको उपाधि एपीएफलाई

काठमाडौं। प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्रिकेट क्लबले जितेको छ। सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराएर एपीएफले उपाधि जितेको हो।

धनगढीको फाप्ला मैदानमा सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य पछ्याएको एपीएफले १२ ओभर पाँच बलमा एक विकेट गुमाएर भेटायो। एपीएफका लागि ममता चौधरीले अविजित ४३ रन र कप्तान इन्दु बर्माले अविजित १८ रन बनाए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम १८ ओभर एक बलमा ६७ रनमा अलआउट भयो। सुदूरपश्चिमका लागि मनिषा बोहोराले अविजित १८ र कप्तान विन्दु रावलले १७ रन बनाइन्। एपीएफकी कबिता जोशीले तीन विकेट लिइन्। यस्तै सबनम राई र कप्तान इन्दु बर्माले समान दुई विकेट तथा करुणा भण्डारीले एक विकेट लिए।

हिजो भएको सुपर फोरको अन्तिम खेलमा बागमती प्रदेशलाई ३० रनले हराएर सुदूरपश्चिम फाइनलमा पुगेको हो। त्यसअघि हिजै भएको सुपर फोरको पहिलो खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ६९ रनले हराएर फाइनलमा पुगेको हो।

प्रतियोगिताको उपाधि विजेता एपीएफले पाँच लाख र उपविजेता बनेको सुदूरपश्चिम प्रदेशले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

प्रतियोगितामा सात वटा प्रदेश तथा दुई विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्रिकेट क्बल र त्रिभुवन आर्मी क्लब सहभागी थिए। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै सशस्त्र प्रहरी बलको एपीएफ क्लब थिए। यस्तै समूह ‘बी’ मा कोशी, बाग्मती र मधेश प्रदेशका साथै त्रिभुवन आर्मी क्लब थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *