‘श्रमदानको खेदो नखन्नु, श्राप लाग्ला’
सुनसरी। आफूविरुद्ध उजुरी परेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रमदानलाई प्रोत्साहन गर्नुको साटो विरोध गरेको भन्दै असन्तुष्टि पोखेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जवाफी पत्र लेख्दै उनले असन्तुष्टि पोखेका हुन्। खानेपानी आयोजना निर्माणका क्रममा अनियमितता गरेको भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो।
उक्त उजुरीको विषयमा अख्तियारले सोधपुछ गरेपछि साम्पाङले जवाफ पठाएका हुन्। केन्द्र सरकारसँग धरानमा कोशी नदीको पानी ल्याइदिनु भनेर बिन्ती बिसाउँदा पनि नसुनेपछि आफू थोत्रो गाग्री लिएर सिंहदरबार पुगेको पनि उनले पत्रमा उल्लेख गरेका छन्।
केन्द्र सरकारले नसुनेपछि धरानबासीको जीवन बचाउन ४२ किलोमिटर टाढा कोकाहाबाट भीरपाखा, डाँडाकाँडा, उकालीओराली गर्दै पानी ल्याउनु परेको उनको भनाइ छ।
साम्पाङले जवाफी पत्रमा लेखेका छन्, ‘केन्द्र सरकारलाई कोशीबाट पानी ल्याइदिनु है भनेर वर्षौं बिन्ती बिसाउँदा पनि नसुनेकोले अस्ति थोत्रे गाग्री लिएर सिंहदरबार पुगेँ। जनतालाई पानी चाहिएको छ है, तत्काल पानी चाहिएको छ। आश्वासन र कागजको खोस्टा होइन, पानी चाहिएको छ के। त्यसैले हाम्ले श्रमदान गर्नु परेको हौ, खोइ कुरा बुझ्या।’
आफूले यत्रो दुःख गर्दा पनि उजुरी दिने मान्छे को हो भन्दै उनले आक्रोस पोखेका छन्। ताली बजाउनुको सट्टा श्रमदान अभियानको खेदो खन्ने काम भएको उनले उल्लेख गरेका छन्।
मेयर साम्पाङले लेखेका छन्–
‘बाइयात उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो? कति दिन श्रमदान गर्यो? को हो त्यो? बुझेर लेखिपठाउनु होला। धरानको हो कि धरान बाहिरको हो त्यो फटाहा? अचम्म लाग्छ यत्रो दुःख गर्दा नि ताली नबजाको देख्दा। राज्यको ढुकुटी खर्चेर बनाएको मेलाम्ची, दमक टावर, एनसेल, वाइडबडी जस्ता कुरातिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु है, नखन्नु तिर्खाएका मानिसहरुको श्राप लाग्ला। पानी भनेको विकास होइन जीवन आधार, मानिसको आधारभूत आवश्यकता हो। पानीमा राजनीति गर्नु हुँदैन। पानी माग्न जनता त्यता आउलान् है फेरि।’


Sahi bichar syalut meyar sap