भारतमा रेल दुर्घटनाः ७ जना नेपालीको मृत्यु

काठमाडौं। भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ। महाराष्ट्र राज्यअन्तर्गत जलगाउँ जिल्लाको परधाडे स्टेसन नजिकै भएको दुर्घटनामा अछामका ४, कैलालीका २ र बाँकेका एक जनाको मृत्यु भएको हो।

माघ ९ गते साँझ भएको रेल दुर्घटनामा परी १२ जनाको मृत्यु भएको थियो।

परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा अछाम मंगलसेनका ११ वर्षीय हिमुनन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा र अछाम कमलबजारकी ६० वर्षीया कला कामी छन्।

यस्तै, दुर्घटनामा मृत्यु हुनेमा कैलालीकी ४३ वर्षीया कमला नवीन भण्डारी र ४० वर्षीय लछिराम पासी छन् । बाँकेको डंडुवाका ३२ वर्षीय राधेश्याम राधको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ।

दुर्घटनामा ४ जना नेपाली घाइते भएका छन्। ३ जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका १ जनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूको शीघ्र उपचारका लागि सरकारले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास र काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायहरूसँग समन्वय एवं सहजीकरण गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *